२६ कार्तिक २०८१, सोमबार | Mon Nov 11 2024

‘फेक न्युज’ विश्वकै चर्चित शब्द


१९ कार्तिक २०७४, आइतबार  

0
Shares

‘फेक न्युज’ विश्वकै सबैभन्दा चर्चित शब्द बनेको छ । कालिन्स शब्दकोशले ‘फेक न्युज’लाई सन् २०१७ को सबैभन्दा चर्चित शब्दको सम्मान दिएको हो । विश्वभर पहुँचका आधारमा यसलाई चर्चित शब्दको रूपमा चुनिएको हो । यो शब्द सबैभन्दा बढी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रयोग गरेका छन् ।

बेलायतको शब्दकोश तयार गर्ने प्रमुख कम्पनी कालिन्स शब्दकोशले पछिल्लो १२ महिनामा ‘फेक न्युज’ शब्द उपयोगमा ३६५ प्रतिशत वृद्धि भएको जनाएको छ । सन् २०१६ मा राष्ट्रपति चुनावका वेला मिडियाको पक्षपातपूर्ण ‘कभरेज’लाई प्रतिकार गर्न ट्रम्पले लगातार यो शब्द प्रयोग गरेका थिए ।

‘फेक न्युज’लाई कालिन्सले ‘समाचार रिपोर्टिङको आडमा दिइने गलत एवं सनसनीपूर्ण सूचना’ भनेर परिभाषित गरेको छ । सन् २०१६ मा विश्वमै चर्चित बनेको शब्द ‘ब्रेक्जिट’लाई ‘फेक न्युज’ले पछि पारिदिएको छ । २०१६ मा बेलायत युरोपियन संघबाट बाहिरिएपछि जनमत दिने सन्दर्भमा ‘ब्रेक्जिट’ शब्द चर्चित थियो ।

कालिन्सको भाषा सामग्रीका प्रमुख हेलेन न्युजटेड भन्छन्, ‘फेक न्युज चाहे कुनै तथ्यको रूपमा वा कुनै आरोपमा प्रयोग भएको होला, तर यो साल अपरिहार्य नै भएको छ । यसले समाचार रिपोर्टिङमा समाजको विश्वासलाई कम गर्न भूमिका निभाएको छ ।’
ट्रम्पले केही मिडिया रिपोर्टको आलोचना गर्न यो शब्द लगातार प्रयोग गरेका थिए । राष्ट्रपतिका लागि प्रतिस्पर्धामा रहँदा रुसी हस्तक्षेपको जाँचको सम्बन्धमा ट्रम्पले दाबी गरेका थिए, ‘फेक न्युजले यो समयमा धेरै काम गरिरहेको छ ।’

तर, ट्रम्प एक्लै यो शब्द प्रयोग गर्ने व्यक्ति भने होइनन् । बेलायती प्रधानमन्त्री थेरेसा मे र विपक्षी नेता जेरेमी कार्बिनले पनि यो शब्दलाई आफ्नो भाषणमा प्रयोग गरिरहन्छन् । ‘फेक न्युज’बाहेक २०१७ मा ‘जेन्डरफ्लुइड’, ‘फिजेट स्पिनर’, ‘गिग इकोनोमी’, ‘एन्टिफा’ र ‘इको–चेम्बर’लगायत शब्द चर्चामा आए । नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७४, आइतबार  ९ : २६ बजे