३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

तेह्रथुम पुगेर प्रधानमन्त्री देउवाले भने-कम्युनिस्टले बहुमत पाए चुनाव नै हुँदैन


११ मंसिर २०७४, सोमबार  

0
Shares

तेह्रथुम । प्रधानमन्त्री तथा नेका सभापति शेरबहादुर देउवाले आसन्न चुनावमा जनताले कम्युनिस्टहरुलाई बहमुत दिए फेरि नेपालमा चुनाव नै नहुने आरोप लगाएका छन्।

सोमबार तेह्रथुमको म्याङ्लुङमा आयोजित नेपाली काँग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले उक्त भनाइ राखेका हुन्।

देउवाले भने,  ‘लोकतन्त्रमा नागरिकले स्वतन्त्रतापूर्वक बाँच्न पाउने, लेख्न पाउने, बोल्न पाउने, फरक विचार राखेर आन्दोलन गर्न पाउने अधिकार राख्छन्, तर कम्युनिस्टको साम्यवादी शासनमा नागरिकले स्वतन्त्ररुपमा हिँडडुलसमेत गर्न पाउँदैनन्।”

वाम गठबन्धनले बहुमत पाए अहिलेको संविधान खारेज गरेर साम्यवादी कम्युनिस्ट शासन लागू गर्ने योजनामा रहेका प्रधानमन्त्री देउवाको तर्क थियो । भने, “नेपाली काँग्रेसबाहेक बहुदलीय प्रजातन्त्रमा विश्वास गर्ने कुनै पनि प्रजातान्त्रिक पार्टी छैन”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “नेपाली काँग्रेसले हार्दा प्रजातन्त्र हार्छ, त्यसैले यो चुनाव जित्न आवश्यक छ ।”

सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनबाट देशमा अनिष्ट आउने दाबी गर्दै कम्युनिस्टहरु सधैँ हिंसाको बाटोतर्फ अग्रसर रहने अरोप लगाए । नेता पौडेलले कम्युनिस्टहरु समस्या उब्जाउन मात्रै जान्ने तर समाधान गर्न नजान्ने भन्दै काँग्रेसले सधैँ समस्याको समाधान गरी विकासलाई अगाडि बढाउन भूमिका निर्वाह गर्दै आएको बताए।

‘‘राजा महेन्द्रले पनि संसदीय व्यवस्था खोस्न खोजेका थिए, वामपन्थीले पनि संसदीय व्यवस्था खोस्न खोजेका छन्, यो व्यवस्था कुनै पनि हालतमा खोसिँदैन”, वरिष्ठ नेता पौडेलले भने।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री एवं तेह्रथुमबाट प्रतिनिधिसभाकी उम्मेदवार सीता गुरुङले अढाइ दशकसम्म जिल्लाको ताला चाँबी वामपन्थीको हातमा परेकाले विकास निर्माणमा पछि परेको बताइन् । उनले जिल्लाको विकास र समृद्धि नेपाली काँग्रेसको नेतृत्वमा मात्रै सम्भव हुने भन्दै आफूले समानुपातिकबाट सांसद हुँदा प्रत्यक्ष निर्वाचितभन्दा बढी काम गरेर देखाएको बताइन्।

प्रकाशित मिति : ११ मंसिर २०७४, सोमबार  ५ : ०८ बजे