मिस शेर्पा २०१७ की बिजेता हुन् सोनाम डोल्मा शेर्पा । सोलुखुम्बु जिल्लाको दुधकुण्ड गाउँपालिकास्थित वडा २ तुम्बुककी सोनामले ११ प्रतिस्पर्धीलाई पछि पार्दै मिस शेर्पाको ताज पहिरिन् ।
काठमाडौं कपनमा बस्ने सोनामले पुस १४ गते साँझ मिस शेर्पाको ताज पहिरिदै आफूलाई शेर्पा समूदायबाट जिम्मेवारी थपेको बताएकी थिइन् ।
कपनस्थित सान इन्स्टिच्युट अफ नर्सिङमा बिएस्सी अन्तिम वर्षको विद्यार्थीसमेत रहेकी सोनामले यसअघि पनि मिस शेर्पा प्रतिस्पर्धामा भाग लिएकी थिइन् । तेस्रो मिस शेर्पा प्रतिस्पर्धामा टप फाइभसम्ममात्र पुगेकी थिइन् उनी ।
हिमालयन शेर्पा संस्कृतिक केन्द्रकी केन्द्रीय सचिवसमेत रहेकी सोनामले गाउँकै बुद्ध एकेडेमीमा कक्षा तीनसम्मको अध्ययन गरिन् । त्यसपछि जुनबेशी माविबाट एसएलसी सकाएर काठमाडौं आइपुगेकी उनले विज्ञानमा प्लस टु सकाइन् । र, नर्सिङ अध्ययन थालिन् । तिनै सोनाम डिपास इन्टरनेसनलले आयोजना गरेको चौथो मिस शेर्पाको विजेता हुन सफल भएकी हुन् । उनै मिस शेर्पा सोनाम डोल्मा शेर्पासँग एभरेस्ट टाइम्सका लागि नेत्र तामाङले गरेको कुराकानीः
अघिल्लो पटकको प्रतियोगितामा पनि भाग लिनु भएको यसपटक ताज हात पार्न सजिलै भयो है तपाईंलाई ?
सबैभन्दा पहिले त अघिल्लोपटक मिस शेर्पा भएको समय नै पाँच वर्ष बितिसकेछ । त्यतिबेला म टप फाइभमा त पुगेकी थिएँ । यति लामो ग्याप भएपनि मिस शेर्पाको अनुभव त थियो नै । केही अघिमात्र पनि नर्सिङ क्षेत्रमै भएको एउटा ब्युटी पेजेन्टमा टप फाइनालिस्टमा परेकी थिएँ । यसले पनि मलाई प्रतिस्पर्धामा निर्धक्कसाथ प्रस्तुत हुन साथ दियो ।
अर्को कुराचाहि आयोजकले जुन किसिमले विभिन्न प्रशिक्षणको व्यवस्था गर्नुभयो । यसले थप ज्ञान बढ्यो ।
१२ मध्ये तपाई नै कसरी उत्कृष्ट हुनुभयो जस्तो लाग्छ, अरुले पनि प्रशिक्षण लिएका थिए ?
सबैजना यो ताजको लागि डिजर्भिङ हुनुहुन्थ्यो । म पहिले पनि भाग लिएकी थिएँ । सबै प्रतियोगीका कमजोरी हुन्छन् । मेरा पनि कमजोरी थिए । तर, कमीकमजोरीलाई मैले कम गरें । त्यसैले निणार्यकहरुले यसैमा मेरो ‘प्लस प्वाइन्ट’ पाउनु भयो कि !
टाइटल पाउनुभयो, कस्तो लागिरहेको छ ?
दुई वटा प्रतियोगिता भाग लिदाँ टप फाइनालिस्टमा पुगेर बाहिरिए । एकदिन कसो सफल नहोला भनेर प्रयास जारी राखेकी थिएँ । यसपटक विजेता बनें । त्यसैले एकदम खुसी छु ।
काठमाडौंमै जन्मेर गाउँमा जानु भएछ, यस्तो बाध्यता कसरी आइप¥यो ?
यसलाई बाध्यता होइन भाग्य मान्छु म । मेरी आमा शिक्षिका हुनुहुन्छ । उहाँ अहिले पनि गाउँमै पढाउनुहुन्छ । मेरी एकजना बहिनी पनि गाउँमै पढ्दैछिन् । गाउँमै हुर्किन पाएकाले त मैले आफ्नो संस्कृतिको स्वाद लिन पाएँ । त्यही लोकल स्वादले गर्दा नै म यही क्षेत्रमा लागिरहेकी छु ।
गाउँको संस्कृति र सहरको संस्कृतिमा कतिको फरक पाउनुभयो ?
गाउँमा पुरै शेर्पा समूदाय भएकाले त्यहाँ शेर्पा भाषा नै बोल्ने, चाडबाडमा शेर्पा पोशाक लगाउने, गुम्बामा जाने एकदमै फरक वातावरण छ । अहिले पनि यस्तै छ । काठमाडौंमा यस्तो छैन । सहरीकरण, नयाँ वातावरणले यस्तो भएको होला । सहरमा पनि यस्तो बनाउने प्रयासमा हामी सबै लाग्दैछौं ।
सांस्कृतिक केन्द्रबाट पनि शेर्पा संस्कृतिको संरक्षणमै लाग्नुभएको हो ?
मलाई पहिलेदेखि नै आफ्नो संस्कृतिको प्रिजर्भमा लाग्नुपर्छ भन्ने लाग्थ्यो । त्यसैले म हिमालयन शेर्पा सांस्कृतिक केन्द्रमा आवद्ध भए । केन्द्रीय समितिमा बसेर काम गरें । अहिले केन्द्रीय सचिव छु । शेर्पा कला, संस्कृतिको संरक्षण गर्दै प्रवद्र्धन गर्नुपर्छ भन्ने उद्देश्यका साथ हामी लागिरहेका थियौं ।
सांस्कृतिक केन्द्रमा आवद्ध भएकालें कलाकार पनि हुनुहुन्छ हो ?
कलाकार नै त नभनौ । मलाई मिडिया बढी मनपर्छ । धेरैजसो शेर्पा कार्यक्रम आयोजना हुदाँ सञ्चालन गर्छु । नाच अलिअलि आउँछ । शेर्पा र नेपाली नाच दुबै नाच्छु । एक्टिभले शेर्पा समूदायकका कार्यक्रहरु सञ्चालनमा, सांस्कृतिक कार्यक्रमहरुमा सहभागी भइरहन्छु ।
मिस शेर्पा पनि हुनुभयो, सांस्कृतिक केन्द्रकी सचिव पनि हुनुहुन्छ, दुबैको उद्देश्य पनि मिल्छ होला नि हैन ?
सांस्कृतिक केन्द्रको उद्देश्य कलालाई संरक्षण गर्ने ठाउँ हो भने मिस शेर्पा शेर्पा समूदायका युवतीहरुको प्रतिभा प्रस्तुत गर्ने प्लेटफर्म हो । हरेक क्षेत्रमा शेर्पाको संलग्नता छ । मिस शेर्पा पनि कल्चर प्रवद्र्धन गर्ने माध्यम होे । त्यसैले यी दुईमा केही फरकपन भएपनि उद्देश्यहरु करिबकरिब मिल्छ ।
विजेता बन्नुभयो, अब तपाईंको दायित्व के त ?
मिस शेर्पाको टाइटल भर्खरै पाएँ । यसले थप जिम्मेवारी पाएको अनुभव भएको छ । समूदायले पक्कै पनि म बाट केही राम्रो होस भन्ने चाहना राख्छ । म आफूले सक्ने काम गर्छु । शेर्पा समूदाय, अग्रजहरु, शेर्पा संघसंस्थाका साथीहरुसँग छलफल गरी उहाँहरुको सहयोगमा शेर्पा समूदायको हितमा काम गर्छु ।