३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

पाँच पटकको विजेता ब्राजिललाई हराउँदै बेल्जियम सेमिफाइनलमा


२३ असार २०७५, शनिबार  

0
Shares

पाँच पटकको विजेता ब्राजिललाई २-१ ले पराजित गर्दै युरोपियन राष्ट्र बेल्जियम ३२ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । विश्वकप २०१८ अन्तर्गत शुक्रवार कजानको कजान एरेनामा भएको दोस्रो क्वाटरफाइनलमा बेल्जियमले ब्राजिललाई २-१ ले हरायो ।

खेलको १३औँ मिनेटमै ब्राजिलका फर्नान्डिन्होले गरेको आत्मघाती गोलबाट अग्रता लिएको बेल्जियमको लागि ३१औँ मिनेटमा केभिन डे ब्रुएनाले गोल गर्दै पहिलो हाफमै अग्रता दोब्बर पारे ।

दुई गोलले पछि परेको ब्राजिलको लागि दोस्रो हाफमा वैक्लपिक खेलाडी रेनाटो अगस्टोले ७६औँ मिनेटमा एक गोल फर्काएपनि ब्राजिललाई विश्वकपमा टिकिराख्न पर्याप्त भएन ।

बेल्जियमले अब सन् १९९८ को च्याम्पियन फ्रान्सँग सेमिफाइनल खेल्नेछ । फ्रान्स उरुग्वेलाई २-० ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो।

यसअघि बेल्जियम सन् १९८६ मा पहिलो पटक सेमिफाइनल पुगेको थियो ।

बेल्जियमले ब्राजिललाई पराजित गरेको ५५ वर्षयता यो पहिलो पटक हो भने विश्वकपमा पनि पहिलो पटक हो । सन् १९६५ मा भएको पहिलो खेलमै ब्राजिललाई पराजित गरेको बेल्जियम त्यसयता लगातार ३ खेलमा ब्राजिलसँग पराजित भएको थियो ।

विश्वकपमा यसअघि सन् २००२ मा भएको अन्तिम १६ को खेलमा ब्राजिलले बेल्जियमलाई २-० ले हराएको थियो ।

प्रकाशित मिति : २३ असार २०७५, शनिबार  ६ : ५३ बजे