काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपालले नेपालमा पर्यटन २० लाख नभई एक करोड भित्राउने लक्ष्य लिनुपर्ने बताएका छन् ।
शुक्रवार राजधानीको ठमेलस्थित होटल मर्स्याङ्दीमा गन्तव्य नेपाल मिडियाको सातौं बार्षिककोत्सवमा नेता नेपालले नेपालको पर्यटन प्रवर्द्धनका लागि सन् २०२० को लक्ष्य सानो रुपमामात्र भएको उल्लेख गर्दै एक करोड पर्यटक भित्र्याउने लक्ष्य राख्नु पर्ने बताएका हुन् ।
‘यसपाली नेपालले १२ लाख मात्र पर्यटक भित्राउन सफल भएको छ,’ नेपालले भने, ‘यो त नेपालको लागि अत्यन्तै न्युन हो । हाम्रो राष्ट्रको सम्पदाहरुको तुलनामा २० लाख पर्यटक भित्राउने लक्ष्य झिनो हो ।’
उनले कम्बोडिया, थाइल्यान्ड जस्ता देशको उदाहरण दिँदै भने, ‘६० – ६५ लाख जनसंख्या भएको कम्बोडियामा अहिले ८० लाख पर्यटन भित्रिन्छ । माल्दिभ्सले जनसंख्याको कयौं गुनाको पर्यटक भित्राउछ । थाइल्यान्डले आफ्नो जनसंख्याको तीन गुणा पर्यटकहरु भित्राउछन् । अनि, नेपाल जो पर्यटनको लागि सम्पूर्ण कुरामा पूर्ण छ यहाँ जम्मा १२ लाख भित्रिदै छ ।’
नेपाल देवीदेउताले भरिपूर्ण देश भएको उल्लेख गर्दै नेपालले थपे, ‘नेपालमा भएको धार्मिक सम्पदाहरु पूर्वदेखि लिएर पश्चिम सम्मका सबै ठाउँको मन्दिरहरुलाई एकै ठाउमा व्यावस्थित तरिकामा राख्न सक्नु पर्छ । त्यति मात्र नभएर संसार भरका मानिसहरु पनि अध्ययन, अनुसन्धान, खोज्न, बुझ्न र त्यतिखेरको मान्छेको परिकल्पना र धार्मिक परिकल्पनामा उनिहरुले बिचरण गर्नका धेरै मद्दत समेत पुग्छ ।’
उनले सबै पर्यटनहरुको धार्मिक हिसावले पनि नेपाल पर्यटनको गन्तव्य नै भएको दाबी गरे ।
नेता नेपालले उदेश्य जहिले पनि ठुलै लिन पर्ने कुरामा जोड दिदै भने, “लक्ष्मी प्रसाद देवकोटाले नै भन्नु भएको छ ‘उदेश्य के लिनु उडि छुनु चन्द्र एक ।’, मान्छे चन्द्रमामा पनि पुगि सके । मान्छेले उडेर देखाइ सके । अब पालो हाम्रो हो । उड्नै पर्छ भन्ने हैन, नेपालमा यति बेला पर्यटन प्रवर्धन गर्ने बेला भएको छ तपाइ हामी आ-आफ्नो तह र तप्का बाटै काम अगाडि बढाउनु पर्छ । नसक्ने कुरा कहि पनि छैन । हामी आफै मनन गरौं ।’
समय आधुनिकिकरणमा गैसकेको कुरालाई उल्लेख गर्दै उनले भने, ‘हिजो निको नहुने भनिएको कतिपय रोगहरुपनि आज उपचार हुन थालि सक्यो । हिजो कल्पना समेत नगरेको कुराहरु आज चकित पार्ने गरी विकसित भैसक्यो । मान्छे चन्द्रमामा स्याटल हुन तयारी गर्न थालिसके । नयाँ नयाँ ठाउँहरुको खोज अनुसन्धानको क्रमहरुपनि जारी नै छ ।’
अनि हामि चै ट्वान्टी ट्वान्टी पर्यटनको प्रवर्धनको सपनामै सिमित अझै छौं । नेपालले भने, ‘बिस लाखको हैन एक करोडको लक्ष्य राख्नु पर्छ । अझ, त्यति मात्रै हैन हाम्रो देशको जनसंख्याको दोब्बर बनाउने लक्ष्य राखेर काम अगाडि बढाउनु पर्दछ । अनि मात्र सिंगो देशले गति लिएको प्रत्येक नपालीहरुलाई महसुस गर्न पाउनेछन् ।’
उनले नेपालमा पर्यटन प्रवर्धनको कामहरु धेरै नै बाकी रहेको दाबी गर्दै भने, ‘सर्वप्रथम अन्तराष्ट्रिय निजगड विमानस्थल निर्माण गर्नु अत्यान्तै आवश्यक छ । फास्टट्राक रोडहरु निर्माण गर्नु पर्दछ । अनि, काठमाडौंलाई सुन्दर र सफा नगरि निर्माण गर्नु पर्ने कुरालाई प्राथमिकता दिनु पर्छ ।’