काठमाडौं: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पद्मरत्न तुलाधर बहुआयामिक व्यक्ति भएको बताएका छन् । आज पत्रकार एवं साहित्कार जितेन्द्र श्रेष्ठले लेखेको तुलाधरको जीवनी पुस्तक विमोचन गर्दै प्रचण्डले उक्त भनाई राखेका हुन् ।
राजधानीको क्षेत्रपाटीस्थित क्षेत्रपाटी पार्टी प्यालेसमा आयोजित समारोहमा उलने भने, ‘पद्मरत्नजीको विविध आयाम भएका व्यक्ति हुनुहुन्छ । भाषा आन्दोलन, पहिचानको आन्दोलन, पत्रकारिताको आन्दोलनमा, मानवअधिकारका रुपमा साहित्यकारका रुपमा उहाँका धेरै व्यक्तित्वका आयाम छन् । उहाँको बारेमा चर्चा गर्दै आएका थियौ।’ उहाँ गुम्दा हामीले अभिभावक गुमायौ ।
शान्ति प्रक्रिया सफल पार्ने नेताका रुपमासमेत पद्मरत्नको योगदान रहेको उल्लेख गर्दै प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सम्बन्धित सबै पक्षलाई सक्दो सहयोग गर्न आह्वान गरे ।
अध्यक्ष दाहालले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गर्न सरकारले सोसँग सम्बन्धित ऐन संशोधन गरेर सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानवीन आयोगको नयाँ गठन प्रक्रिया सुरु गरिसकेको पनि जानकारी दिए ।
कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुंगानाले पनि स्वर्गीय पदमरत्न तुलाधरले नेपालको लोकतान्त्रिक आन्दोलन, भाषिक आन्दोलन र पहिचानको आन्दोलनमा दिनु भएको योगदानको स्मरण गराए । ब्रदर बुक्सले बजारमा ल्याएको पुस्तकको मुल्य ३२५ रुपैयाँ तोकेको छ ।