अल्बानी । कागजपत्रबिहीन आप्रवासीले पनि ड्राइभर लाइसेन्स पाउन सक्ने बिल न्युयोर्क स्टेट एसम्ब्लीबाट पारित भएको छ ।
एसम्ब्लीमा भएको मतदानमा बिलको पक्षमा ८७ र विपक्षमा ६१ मत खसेको थियो । बिलको पक्षमा डेमोक्रेट्स छन् भने विपक्षमा रिपब्लिकन । यद्यपि न्युयोर्क स्टेट एसम्ब्लीमा १५० सदस्यमध्ये १०६ जना डेमोक्रेट्स रहेका छन् ।
यस्तो छ व्यवस्था
अमेरिकी कागजपत्र नभएकाले पासपोर्ट वा उनीहरुको परिचय खुल्ने पत्र भएमा लाइसेन्सका लागि आवेदन दिन सक्ने व्यवस्था बिलमा छ ।
तर सिनेटले यस विधेयक पास हुने या नहुनेबारे निर्णय गर्नेछ । सिनेटमा पनि डेमोक्रेट्स सदस्य अधिक रहेकाले यो बिललाई धेरैले आशावादी रुपमा हेरेका छन् । ६३ सदस्य रहने सिनेटमा ३९ जना डेमोक्रेट्सका सदस्य छन् ।
यो बिल पारित भएमा कागजपत्रबिहीनले स्ट्यान्डार्ड ड्राइभर लाइसेन्स पाउनेछन् । तर उक्त लाइसेन्समा एक स्ट्याम्प हुने र जसमा यो फेडेरल परिचयका लागि होइन भनी लेखिएको हुनेछ । यो बिल पारित भएमा ४ लाख भन्दा बढी कागजपत्र बिहीनले लाइसेन्सका लागि आवेदन दिने अनुमान गरिएको छ ।
अधिकारकर्मीले सबैले समान रुपमा लाइनसेन्स पाउनुपर्ने भन्दै लबिङ गर्दै आइरहेको छ । पछिल्लो समय उनीहरुले सिनेटरहरुलाई सम्पर्क गरी बिल पास गर्न सहयोग गरिदिन अनुरोधसमेत गर्दै आएको छ ।