न्युयोर्क । ज्याक्सन हाइटमा हरेक वर्ष हुँदै आएको मःमः क्राउल प्रतियोगिताको उपाधि यस वर्ष पनि नेपाली भान्साघर रेस्टुरेन्टले पाएको छ । भान्साघरले यो उपाधि लगातार तेस्रोपटक पाएको हो ।
आइतबार आयोजित मःमः क्राउलको दिन भान्साघर रेस्टुरेन्ट निकै भ्याइनभ्याइ थियो । प्रतियोगिताको दिन ५ सय बढी ग्राहकले भान्साघरको मःमःको स्वाद चाखेका थिए । दिउँसो १ बजेदेखि ५ बजेसम्म भएको मःमः क्राउलमा सहाभागीले हरेक रेस्टुरेन्टको मःमः चाख्दै अन्तमा मतदान गरेका थिए । १ डलर तिरेर मःमः चाख्दै सहभागीले सबैभन्दा बढी नेपाली भान्साघरको मःमःको स्वादलाई मतदान गरेको आधारमा यस पटक पनि विजेता बनेको हो ।
नेपाली भान्साघरले पहिलो वर्ष १८ वटा रेष्टुरेन्टसँग, दोस्रो वर्ष ३३ रेस्टुरेन्टसँग र यसपटक ७० वटा रेस्टुरेन्टसँगको प्रतिस्प्रर्धामासमेत विजेता बन्न सफल भयो । ‘ग्राहकहरुको रुची अनुरुप हामीले दिँदै आएको स्वाद मन पराई यस पटक पनि विजेता बनाउनु हुने सबैलाई धन्यवाद दिन चाहन्छु,’ भान्साघर रेस्टुरेन्टकी यमुना श्रेष्ठले भनिन्, ‘सबैको प्रिय मःमः नेपाली र तिब्बतीसँगै अमेरिकामा रहेका विभिन्न मुलुकका नागरिकले पनि मन पराउन थालेकोमा खुसी लागेको छ ।’
स्याङजा वालिङ नगरपालिका ३ निवासी युमनाले सन् २०१५ मा भान्साघर खोलेकी थिइन् । रेस्टुरेन्टमा चिकेन, विफ, गोट, पोर्क, पनिर र भेज मःमः पाइने उनले बताइन् । भान्साघर रेस्टरेन्टसँगै यमुनाले रुजभेल्टमा रहेको पुरानो चौतारी रेस्टुरेन्टसमेत चलाउन थालेकी छिन् । ‘नेपाली थाली, मःमः, चाउमिनसँगै ग्राहकको रुचिमा अब चौतारी रेस्टुरेन्टमा हप्तामा एक दुई दिन दोहोरी साँझ चलाउने योजना बनाएकी छु,’ उनले भनिन् ।