काठमाडौं– सरकारले तोकिएभन्दा बढी शुल्क लिएका मेडिकल कलेजले मंगलबारसम्म रकम फिर्ता नगरे कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ ।
गृह मन्त्रालयमा सोमबार गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत उपस्थित बैठकले विद्यार्थीबाट बढी लिइएको शुल्क मंगलबारसम्म फिर्ता नगरे आवश्यक कारवाही गर्ने निर्णय गरेको हो ।
यसअघि गत असोज र कात्तिकमा गृह मन्त्रालयमा गृहमन्त्री र शिक्षामन्त्रीलगायतका पदाधिकारीसहित बसेको बैठकले सुरुमा एक महिना र त्यसपछि थप १५ दिनको समयसीमा दिँदै बढी लिएको रकम फिर्ता गर्न वा समायोजन गर्न आग्रह गर्दै फिर्ता नगरे कारवाही अघि बढाउने निर्णय गरेको थियो ।
सरकारले दिएको १५ दिनको समयसीमा आज सकिँदैछ । गतवर्षको मन्त्रिपरिषद बैठकले बढी शुल्क लिएमा कलेजविरुद्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजूरी दिन सकिने निर्णय गरेको थियो ।
सरकारले कारबाही गर्ने तयारी गरेपछि मेडिकल कलेजका सञ्चालकहरू भने विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क समायोजन गर्न तयार भएका छन्। उनीहरु मंगलबारसम्म शुल्क समायोजनका लागि सामूहिक प्रतिबद्धता व्यक्त गर्न आन्तरिक गृहकार्यमा लागेका छन्।
गृहमन्त्री रामबहादुर थापाले सोमबार कलेज सञ्चालकहरूलाई २४ घण्टाभित्र शुल्क फिर्ता नगरे कारबाही गर्न मातहत निकायलाई निर्देशन दिएलगत्तै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उनीहरूलाई मन्त्रालयमै बोलाएर शुल्क समायोजन गर्न प्रस्ताव गरेका थिए। शिक्षामन्त्रीको प्रस्तावमा कलेज सञ्चालकहरू सहमत भएका हुन्।
यसअघि शिक्षा मन्त्रालयले शुल्क फिर्ता वा समायोजनको विकल्प दिएको थियो।