१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

कांग्रेस संसदीय दलको नेतामा सर्वसम्मत आङ्देम्बे चयन



नेपाली कांग्रेसका नवनिर्वाचित संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले जनताको मन दुखाउने काम गरे कडा रूपमा प्रतिवाद गर्ने चेतावनी दिएका छन् । सोमबार सर्वसम्मत रूपमा संसदीय दलको नेतामा चयन भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारका राम्रा कामलाई समर्थन गर्ने तर गलत कामप्रति सशक्त रूपमा उभिने बताएका हुन् ।

उनले लोकतन्त्रमा संसद् प्रतिपक्षको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । राज्यबाट जनतामाथि अन्याय हुने वा जनभावनाविपरीत काम भए त्यसको विरोध गर्ने उनको भनाइ थियो । मुलुकलाई नयाँ ढंगले अघि बढाउने पार्टीको अवधारणालाई कार्यान्वयन गर्न आफू सक्रिय रहने पनि उनले बताए ।

चुनाव सम्पन्न भएको करिब दुई महिनापछि सिंहदरबारमा बसेको संसदीय दलको बैठकले आङ्देम्बेलाई सर्वसम्मत रूपमा नेता चयन गरेको हो । सोही बैठकमा पार्टी सभापति गगन थापा ले उनलाई औपचारिक रूपमा प्रमाणपत्र प्रदान गरेका थिए । समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य रहेका आङ्देम्बे कांग्रेसका निवर्तमान सहमहामन्त्रीसमेत हुन् ।

६१ वर्षीय आङ्देम्बेको राजनीतिक पृष्ठभूमि लामो छ । पाँचथरको प्रभावशाली राजनीतिक परिवारमा जन्मेका उनले विद्यार्थी राजनीति हुँदै पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । २०३६ सालको जनमत संग्रहदेखि नै बहुदलीय व्यवस्थाको पक्षमा सक्रिय रहेका उनी नेपाल विद्यार्थी संघ र तरूण दल हुँदै कांग्रेस राजनीतिमा स्थापित भएका हुन् । २०४६ सालको जनआन्दोलनमा समेत उनले सक्रिय भूमिका खेलेका थिए ।

उनका परिवारका सदस्यहरू पनि नेपाली कांग्रेससँग निकट रूपमा जोडिएका थिए। उनका माहिला बुबा प्रेमराज आङ्देम्बे बीपी कोइराला का निकट सहयोगी तथा पूर्वमन्त्री थिए भने जेठा बुबा देउमान आङ्देम्बे पनि पुराना राजनीतिक व्यक्तित्वका रूपमा परिचित थिए। उनका बुबा घनेन्द्रराज आङ्देम्बे स्थानीय तहमा प्रभावशाली नेता थिए।

प्रत्यक्ष निर्वाचनमा पटक–पटक प्रतिस्पर्धा गरेका आङ्देम्बेले २०७० को दोस्रो संविधानसभा निर्वाचन जितेका थिए भने यसपटक समानुपातिकतर्फबाट संसदमा प्रवेश गरेका हुन्। कांग्रेसभित्र लामो समयदेखिको आन्तरिक विवादका बीच संसदीय दल नेता चयनमा ढिलाइ भएको भए पनि अन्ततः सहमतिमार्फत आङ्देम्बे चयन भएका हुन्।

संसदीय दलको नेताका लागि अर्जुननरसिंह केसी, मोहन आचार्य लगायतका नेताहरू आकांक्षी रहेका थिए। तर पार्टीभित्रको सहमति र एकतालाई प्राथमिकता दिँदै अन्ततः आङ्देम्बेको नाममा सहमति जुटेको हो। सभापति गगन थापाले प्रस्ताव गरेको उनको नाममा शेरबहादुर देउवा, पूर्णबहादुर खड्का र शेखर कोइराला पक्षले समेत समर्थन जनाएपछि उनी सर्वसम्मत रूपमा संसदीय दल नेता बनेका छन्।

नवनिर्वाचित नेता आङ्देम्बेले अब पार्टीको एकता सुदृढ गर्दै संसदमा प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्ने र मुलुकलाई नयाँ दिशामा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ७ : २७ बजे