१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

डोजरपछि विस्थापित सुकुम्बासीहरू रंगशालामा, ५४७ परिवारले नाम दर्ता



सिनामंगलका सुकुम्बासी बस्तीबाट शनिबार विस्थापित भएका कुमार कुम्हर आइतबार दिउँसो दशरथ रंगशाला पुगेर आफ्नो परिवारको नाम र विवरण दर्ता गराएका छन् । काभ्रेको मन्डन देउपुर नगरपालिकाका कुम्हर शनिबार डोजरले घर भत्काएपछि परिवारसहित गुह्रेश्वरीस्थित एक विद्यालयमा आश्रय लिएर बसेका थिए ।

डर र अन्यौलका कारण शनिबार नै रंगशाला आउन नसकेको बताउँदै उनले भने, “देशभरि कहीँ पनि मेरो आफ्नै जग्गा छैन । भएको एउटा आश्रय पनि भत्काइदिएपछि के गर्ने भन्ने अन्योल भयो। आज नाम टिपाउन नआए सुकुम्बासी सूचीबाटै बाहिरिने डरले आएँ ।”

उनले आफू, पत्नी र तीन तथा चार वर्षका दुई सन्तानसहित चार जनाको विवरण दर्ता गराएका छन् । यद्यपि, सरकारले व्यवस्था गरेको ‘होल्डिङ सेन्टर’ मा बस्न भने उनी इच्छुक छैनन् । “दैनिक मजदुरी गर्नुपर्छ, टाढा बस्दा काममा जान गाह्रो हुन्छ,” उनले भने, “केही दिन विद्यालयमै बस्छु, त्यसपछि आफैं नजिकै बस्ने व्यवस्था गर्छु।”

कुम्हरजस्तै थुप्रै सुकुम्बासीहरू अहिले धमाधम रंगशाला पुगेर विवरण दर्ता गराइरहेका छन्। थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायतका बस्तीमा डोजर चलाइएपछि उनीहरू डरले विभिन्न स्थानमा सरेका थिए। अहिले भने सरकारी प्रक्रियामा सहभागी हुन उनीहरू क्रमशः सम्पर्कमा आउन थालेका हुन् ।

सरकारले आश्रय र खानपिनको व्यवस्था गर्न नसक्ने परिवारको विवरण संकलनका लागि रंगशालामा हेल्प डेस्क स्थापना गरेको छ। त्यहाँ दर्ता गरेपछि पाँच वटा ‘होल्डिङ सेन्टर’ मा बस्ने व्यवस्था मिलाइने जनाइएको छ ।

आइतबार बेलुका ७ बजेसम्म ५४७ परिवारले नाम दर्ता गराइसकेका छन्। बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरण ले रंगशालामा छुट्टाछुट्टै डेस्क राखेर विवरण संकलन गरिरहेका छन् ।

प्राधिकरणमा २१७ परिवारले नाम दर्ता गराएका छन्, जसमा थापाथलीका ७२, शान्तिनगरका ६२, गैरीगाउँका ४४ र मनोहराका ३९ परिवार छन् । त्यस्तै, उपत्यका विकास प्राधिकरणमा ३३० परिवारले नाम दर्ता गराएका छन्, जसमध्ये २१८ परिवारको रूजु भइसकेको छ । रूजु भएका परिवारमध्ये थापाथलीका ६६, गैरीगाउँका ४३, सिनामंगलका २१, शान्तिनगरका ५८ र मनोहराका ३० परिवार रहेका छन् ।

रंगशालामा स्वास्थ्य परीक्षण र खानपिनको व्यवस्था पनि गरिएको छ, जसको समन्वय काठमाडौं महानगरपालिका ले गरिरहेको छ ।

विवरण संकलनपछि भूमिहीन तथा आवासहीन परिवारलाई होल्डिङ सेन्टरमा राखेर दीर्घकालीन व्यवस्थापन गर्ने योजना रहेको बागमती सभ्यता विकास परियोजनाका सामाजिक परिचालक कुमार सिंखडाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ११ : ०८ बजे