१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

एन्फा अध्यक्षसहित २४ पदाधिकारीको पासपोर्ट कालोसूचीमा



अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजबिक्रम नेम्बाङ सहित २४ पदाधिकारीको पासपोर्ट कालोसूचीमा राखिएको छ । अध्यागमन विभागका अनुसार शुक्रबार एन्फाका पदाधिकारीहरूको पासपोर्ट कालोसूचीमा राख्न निवेदन प्राप्त भएपछि सोहीअनुसार कारबाही गरिएको हो ।

अध्यागमन विभाग का स्रोतका अनुसार कालोसूचीमा परेका व्यक्तिहरूलाई विदेश जान नदिन निर्देशनसहित पत्राचार भएको छ। “यदि कालोसूचीमा रहेका व्यक्ति विदेश जान खोजेमा सम्बन्धित निकायलाई जानकारी गराइन्छ,” स्रोतले जनाएको छ ।

यसअघि राष्ट्रिय खेलकुद परिषद ले एन्फाको गतिविधि छानविन गर्न कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरेको थियो । सोही उपसमितिले आर्थिक अनियमितताको विषयमा अनुसन्धान गर्न आवश्यक ठानेपछि नेम्बाङसहित पदाधिकारीहरूको पासपोर्ट कालोसूचीमा राख्न सिफारिस गरेको परिषद स्रोतले जनाएको छ ।

उक्त सिफारिस युवा तथा खेलकुद मन्त्रालय हुँदै गृह मन्त्रालय पुगेपछि अन्ततः अध्यागमन विभागले कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन गरेको हो ।

पछिल्लो समय खेलकुद परिषद र एन्फाबीच विवाद चर्किएको छ । परिषदले आफ्नो निर्देशनविपरीत निर्वाचन प्रक्रिया अघि बढाएको आरोप लगाउँदै एन्फामाथि तीन महिनाको निलम्बनसमेत गरेको थियो । साथै, एन्फामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग मा परेका उजुरीबारे पनि मन्त्रालयमा पत्राचार भइसकेको छ ।

यसबीच एन्फाका पदाधिकारीहरू फिफा कंग्रेस मा सहभागी हुन क्यानडाको भ्यानकुवर जाने तयारीमा थिए । तर पासपोर्ट कालोसूचीमा परेपछि उनीहरूको सहभागिता अब अनिश्चित बनेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ११ : ०३ बजे