१० चैत्र २०८१, सोमबार | Mon Mar 24 2025

प्रधानमन्त्रीको आठौं पटक डायलसिस



काठमाडौँ— प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबार आठौं पटक डायलसिस गरिएको छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गत मंगलबार भर्ना भएयता यो चौथो डायलसिस हो। त्यसअघि ग्रान्डी इन्टरनेसनल हस्पिटलमा २६ दिनमा ४ पटक डायलसिस गरिएको थियो।

प्रधानमन्त्रीलाई सम्भावित संक्रमणको जोखिमबाट जोगाउन अझै आईसीयूमै राखिएको छ। उनको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको चिकित्सकहरूले बताएका छन्। एपेन्डिसाइटिस देखिएपछि छ दिनअघि प्रधानमन्त्री ओलीलाई आकस्मिक रूपमा सेन्टरमा लगेर शल्यक्रिया गरिएको थियो।

स्रोतका अनुसार आइतबार प्रधानमन्त्री ओलीको पेट सामान्य दुखेको थियो। ‘पेटमा शल्यक्रिया गरिएकाले घाउ दुख्नु सामान्य हो,’ उपचारमा संलग्न एक चिकित्सकले भने। उनको आइतबार अल्ट्रासाउन्ड पनि गरिएको थियो। उनलाई बिहान हिँडडुल गराइएको थियो। संक्रमणको जोखिमका कारण केही दिन आईसीयूमै राखेर प्रधानमन्त्री ओलीलाई निवास पठाउने रणनीति रहेको एक चिकित्सकले बताए।

प्रधानमन्त्री ओलीलाई अझै नरम आहार नै दिइँदै छ। प्रधानमन्त्रीले आइतबार आइप्याडमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन समारोह हेरेका थिए।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ११ : ४३ बजे