११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

‘एभरेष्ट समिटर्स समिट–२०२६’ जेठ १३ मा काठमाडौंमा हुने



दोस्रो संस्करणको एभरेष्ट समिटर्स समिट–२०२६ यही जेठ १३ गते काठमाडौंमा आयोजना हुने भएको छ । एभरेष्ट अलायन्स नेपालको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा हुने उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार यस वर्ष विश्वका २६ देशका १७६ सगरमाथा आरोहीलाई विशेष पदक र प्रमाणपत्रसहित सम्मान गरिनेछ । एभरेष्ट अलायन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले सगरमाथा आरोहीहरूको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मान गर्ने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिइएको बताए ।

उनका अनुसार पहिलो संस्करणको सफलतापछि यो कार्यक्रम अब विश्वव्यापी मञ्चका रूपमा स्थापित हुँदै गएको छ । उनले भने, “हामीले गत वर्षदेखि सगरमाथा आरोहीलाई सम्मान गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरेका थियौँ । पहिलो संस्करणको सफलताले यसको महत्व र दायरा स्पष्ट पारेको छ । यसपटक सरकारको प्रत्यक्ष सहकार्य भएकाले अझ उत्साहित छौँ ।”

हिमालय क्षेत्रको भविष्य, पर्वतीय पर्यटनको प्रवर्द्धन र आरोहीहरूको साहसिक योगदानलाई विश्वसामु उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । आयोजकले यसले नेपाललाई पर्वतीय पर्यटनको केन्द्रका रूपमा अझ मजबुत बनाउने विश्वास व्यक्त गरेको छ ।

यस संस्करणमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थिति रहनेछ । राष्ट्रपति पौडेलले ‘समिटर्स ब्रेकफास्ट’ मा सहभागी भई आरोहीहरूसँग साक्षात्कार गर्ने कार्यक्रम छ। त्यसपछि प्रभातफेरि र औपचारिक सम्मान कार्यक्रम हुनेछ ।

कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार  ९ : ३५ बजे