११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

साफ महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात



साफ महिला च्याम्पियनसीप अन्तर्गत भारतमा सुरु भएको प्रतियोगितामा नेपाल महिला राष्ट्रिय फुटबल टोलीले विजयी सुरुवात गरेको छ ।

सोमबार गोवास्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा भएको खेलमा नेपालले भुटान महिला राष्ट्रिय फुटबल टोलीलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

नेपालको जितमा खेलको २३औँ मिनेट निर्णायक बन्यो। गीता रानाले गरेको प्रहार भुटानकी खेलाडीलाई लाग्दै गोलमा परिणत भएको थियो । पेनाल्टी क्षेत्रभित्र आएको बल क्लियर गर्ने प्रयासमा भुटानी खेलाडीबाट आत्मघाती गोल हुन पुगेपछि नेपालले अग्रता लिएको थियो ।

नेपालले पहिलो हाफमै अग्रता दोब्बर पार्ने अवसर पनि बनाएको थियो। खेलको ३७औँ मिनेटमा रेखा पौडेलको प्रहार सेकेन्ड बारमा लाग्दै बाहिरिएपछि नेपाल थप गोल गर्नबाट वञ्चित भयो।

दोस्रो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोल हुन नसक्दा नेपालले पहिलो हाफको अग्रता कायम राख्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार  ९ : ११ बजे