१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

नेपालको पर्यटन प्रवर्द्धनमा सधैं लागि रहनेछु : छिरिङ डोमा शेर्पा, मिसेस नेपाल टुरिजम तथा टुरिज एण्ड गुडविल एम्बसाडर



नेपालको पर्यटन क्षेत्रमा लामो समयदेखि क्रियाशिल छिरिङ डोमा शेर्पा मिसेस नेपाल टुरिजमको उपाधि पाए लगतै नेपाल पर्यटन बोर्डको टुरिजम एण्ड गुडविल एम्बसाडर नियुक्त भएकी छन् । दुई महिना अगाडि नेपालको टुरिज एण्ड गुड्विल एम्बसाडर बनेकी छिरिङ डोल्मा यतिखेर अमेरिकाको विभिन्न राज्यमा पुगेर नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसारमा व्यस्त छिन । जहाँ पुगे पनि नेपाल चिनाउने पोष्टर र नेपालको बारेमा जानकारी दिँदै आएकी छिरिङ डोल्मासँग एभरेष्ट टाइम्सले गरेको कुराकानी ।

कति जना प्रतिष्पर्धीहरु बीच तपाईले मिसेस नेपाल टुरिजम्को उपाधी जित्नु भएको हो ?
४० दिनको तालिम पश्चात हामीले दुई चरणमा प्रतिष्पर्धा गरेका थियौं । पहिलो चरणमा ३६ जना बीच प्रतिष्पर्धा गरें । त्यसपछि अन्तिम र फाइनल चरणमा ११ जना बीच प्रतिष्पर्धा भएको थियो । दुबै चरणको प्रतिष्पर्धामा मैले जितेर यो उपाधी पाएकी हुँ ।

मिसेस टुरिजममा कसरी आउनु भयो ?
म नेपाल आमाकी हिमालकी छोरी हुँ । हामी शेर्पा पुस्तौदेखि पर्यटनमा संलग्न हुदै आएको समुदाय हो । लामो समयदेखिन पर्यटन क्षेत्रमा लाग्दै आउने क्रममा केही वर्ष अघि मैले मिसेस नेपाल टुरिजमको पोष्टरहरु र विज्ञापन देखें । त्यही बेलादेखि नै आफुभित्रको ट्यालेन्ट देखाउन पाउछु की भन्ने लागेको थियो । यस वर्ष प्रतिष्पर्धामा भाग लिएकी हुँ । यो प्रतियोगितामा भाग लिनुको मुख्य उद्देश्य भनेको नेपालको पर्यटन क्षेत्रको विकासमा थप योगदान दिनकै लागि हो । यसले मलाई विश्वमा नेपाल चिनाउन थप जोश जाँगार दिएको छ ।

मिसेस टुरिजम उपाधि जितेपछि कस्तो अनुभव भयो ?
पर्यटन क्षेत्रमा लाग्दै जाने क्रममा यो उपाधी जितेपछि निकै खुशी लाग्यो । शीरमा ताज पाउनुको साथै थप काम गर्ने आत्मविश्वास बढ्यो । यो सँगै काँधमा ठुलो जिम्मेवारी थपे जस्तो महसुस भएको छ । अब देशले मलाई के दिन्छ भनेर होइन असल नागरिकको नाताले मैले देशलाई के दिन सकिन्छ भन्ने सोचसँगै नयाँ बाटो पाएकी छु ।

पर्यटन क्षेत्रमा कहिलेदेखि लाग्नु भएको हो ?
म पर्यटन क्षेत्रमा लामो समयदेखि छु । नेपालको एक चर्चित ट्रेकिङ कम्पनी थामसेर्कु ट्रेकिङमा सेक्रेटरीको रुपमा काम गरें । त्यसपछि आफ्नै गु्रपहरु चलाउन थाले । मैले विशेष गरी काठमाडौं आसपास र पोखारतिरको साइटसिनसँगै ट्रेकिङ, हाइकिङ र र्‌याफटिङ चलाउदै आएकी छु ।

पर्यटन बोर्डको टुरिजम एण्ड कल्चर गुडविल एम्बसाडर भएपछि के के गर्ने योजना छ ?
पर्यटन बोर्डले यो जिम्मेवारी दिएपछि मैले धेरै योजनाहरु बनाएकी छु । त्यसमध्येमा सवैभन्द पहिलो प्रथामिकतामा रहेको योजना भनेको नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई कसरी सफल बनाउने भन्ने छ । त्यसपछि पनि निरन्तर रुपमा नेपालको पर्यटन प्रवर्द्धनमा लागि रहनेछु ।

अमेरिकामा आएर के गर्नु भयो ?
अमेरिकामा आएर मिस नेपाल युएस कार्यक्रममा नेपालको पर्यटन प्रवद्र्धनको सामाग्री बाँड्नुको साथै सवैलाई नेपालमा एक/एक जनाको दरले पर्यटक पठाउन अनुरोध गरें । त्यसैगरी न्युयोर्कमा म्याराथुन भइरहेको बेला त्यहाँ सहाभागी विभिन्न मुलुकका मानिसहरुलाई नेपाल पर्यटन वर्षको बारेमा जानकारी दिनुको साथै नेपाल चिनाउने पोष्टरहरु दिने काम गरें । यस्तो कार्य अमेरिकाको न्युयोर्क, नेब्रास्का, बोष्टन, न्यूजर्सी र कनेक्टिकट राज्यमा पुगेर पनि गरें । अझै थप राज्यहरुमा पनि जाने योजना रहेको छ ।

नेपालको पर्यटन प्रवर्द्धनसँगै अरु के गर्ने योजना छ ?
मैले नेपालको पर्यटन प्रवर्द्धनको लागि धेरै योजनाहरु बनाएको छु । यो क्षेत्रमा काम गर्ने धेरै भरियाहरु र गाइडहरु ट्रेकिङ जाने क्रममा मृत्यु भएपछि परिवारले दुख भोग्नु परेको पिडा देखेको छु । उनीहरुले भोग्नु परेको दुखमा साथ दिनका लागि मैले आफनै नाम गरेर छिरिङ डोल्मा फाउण्डेसन खोलेको छु । अब यो फाउण्डेसनमार्फत ट्रेकिङ र एक्सपिडिसनमा जाने भरिया र गाइडहरु मृत्यु भएर दुख पाएका परिवारका बालबालिकाहरुलाई पढ्नकासहयोग गर्ने योजना बनाएकी छु । यो सामाजिक सेवामुलक कार्यको लागि सवैसँग हामीले सहयोगको आशा गरिरहेका छौं ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  १२ : ११ बजे