काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) कानुन संकायअन्तर्गत स्नातकोत्तर तह (एलएलएम) दोस्रो सेमेस्टरको परीक्षामा ७७ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन्। साउन २२ गते सार्वजनिक भएको नतिजामा विधिशास्त्र विषयमा मात्रै ठूलो संख्यामा विद्यार्थी अनुत्तीर्ण भएपछि उनीहरूले उत्तरपुस्तिका परीक्षणमा लापरबाही भएको आरोप लगाउँदै पुनः मूल्याङ्कनको माग गरेका छन्।
असार १० देखि २६ गतेसम्म सञ्चालन भएको दोस्रो सेमेस्टरको परीक्षामा १६७ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ३८ जना उत्तीर्ण र १२९ जना अनुत्तीर्ण भएका छन्। अनुत्तीर्ण सबै विद्यार्थी विधिशास्त्र विषयमा अनुत्तीर्ण भएको विद्यार्थीहरूको दाबी छ।
विद्यार्थीहरूले उत्तरपुस्तिका परीक्षणमा त्रुटि वा लापरबाही भएको भन्दै छानबिनका लागि समिति गठन गर्नसमेत माग गरेका छन्। उनीहरूले सोमबार त्रिवि कानुन संकायका डिन प्राडा डीएन पराजुलीलाई ज्ञापनपत्र बुझाउँदै उत्तरपुस्तिका पुनः मूल्याङ्कन गर्न माग गरेका हुन्।
विद्यार्थीहरूका अनुसार अन्य विषयमा विशिष्ट तथा प्रथम श्रेणीको अंक ल्याएर उत्तीर्ण भएका विद्यार्थीसमेत ‘विधिशास्त्र’ (विषय कोड नं. १६१) मा अप्रत्याशित रूपमा अनुत्तीर्ण भएका छन्। त्यसैले उनीहरूले ‘प्राज्ञिक न्याय’ सुनिश्चित गर्न पुनर्योग मात्र नभई विषयविज्ञमार्फत उत्तरपुस्तिकाको पुनः परीक्षण गर्नुपर्ने माग गरेका छन्।
उनीहरूले पुनर्योग (रिटोटलिङ) ले मात्र मूल्याङ्कनमा भएको भनिएको त्रुटि सच्याउन नसक्ने भन्दै स्वतन्त्र विषयविज्ञबाट उत्तरपुस्तिका पुनः मूल्याङ्कन गरिनुपर्ने बताएका छन्। साथै, उत्तरपुस्तिका परीक्षणमा लापरबाही गर्ने परीक्षकलाई तत्काल निलम्बन गरी छानबिन गर्नुपर्ने मागसमेत उनीहरूको छ।
कुन क्याम्पसका कति विद्यार्थी अनुत्तीर्ण?
त्रिविले एलएलएम अध्ययनका लागि १८५ सिट निर्धारण गरेको छ। त्रिविअन्तर्गत आंगिक तथा सम्बन्धन प्राप्त गरी नेपाल ल क्याम्पस, पृथ्वीनारायण बहुमुखी क्याम्पस र नेसनल ल कलेजमा मात्र एलएलएम पढाइ हुँदै आएको छ।
निर्धारित सिटमध्ये नेपाल ल क्याम्पसको बिहानी सत्रमा ५०, दिवा सत्रमा ५०, नेसनल ल कलेजमा ५० र पोखरास्थित पृथ्वीनारायण बहुमुखी क्याम्पसमा ३५ गरी कुल १८५ सिट छन्। गत वर्ष यी सिटमा १६७ विद्यार्थी भर्ना भएका थिए।
साउन २२ गते प्रकाशित दोस्रो सेमेस्टरको अन्तिम परीक्षाको नतिजाअनुसार सबैभन्दा बढी विद्यार्थी पृथ्वीनारायण बहुमुखी क्याम्पसमा अनुत्तीर्ण भएका छन्। त्यहाँ परीक्षामा सहभागी १९ जनामध्ये ४ जना उत्तीर्ण र १५ जना अनुत्तीर्ण भएका छन्।
त्यस्तै, नेसनल ल कलेजका ५० परीक्षार्थीमध्ये ८ जना उत्तीर्ण र ४२ जना अनुत्तीर्ण भएका छन्।
काठमाडौंको प्रदर्शनी मार्गस्थित नेपाल ल क्याम्पसका बिहानी र दिवा सत्रका ९८ परीक्षार्थीमध्ये ४० जना उत्तीर्ण र ५८ जना अनुत्तीर्ण भएका छन्। बिहानी सत्रका ५० जनामध्ये ३६ जना तथा दिवा सत्रका ४८ जनामध्ये २२ जना विधिशास्त्रमा अनुत्तीर्ण भएका छन्।
यसरी हेर्दा नेपाल ल क्याम्पसमा मात्रै करिब ६० प्रतिशत विद्यार्थी उक्त विषयमा अनुत्तीर्ण भएका छन्।
‘अन्य विषयमा उत्कृष्ट, विधिशास्त्रमा मात्रै फेल’
विद्यार्थीहरूले अन्य विषयमा राम्रो अंक ल्याएर उत्तीर्ण भएका विद्यार्थीसमेत विधिशास्त्रमा मात्रै अनुत्तीर्ण भएको भन्दै नतिजामाथि प्रश्न उठाएका छन्।
एक विद्यार्थीले आफूहरूले डिन कार्यालयमा उत्तरपुस्तिका पुनः परीक्षणको माग गरे पनि त्रिविमा त्यस्तो व्यवस्था नभएको जवाफ पाएको बताए। उनका अनुसार एउटै विषयमा यति ठूलो संख्यामा विद्यार्थी अनुत्तीर्ण हुनुले मूल्याङ्कन प्रणालीमाथि नै प्रश्न उठाएको छ।
उनले भने, ‘कुनै परीक्षकको सनकका कारण हाम्रो भविष्यमा खेलवाड हुन दिन सकिँदैन। उत्तरपुस्तिका पुनः परीक्षण हुनुपर्छ।’
अर्का विद्यार्थीले पहिलो सेमेस्टरमा उत्कृष्ट अंक ल्याएका विद्यार्थीसमेत दोस्रो सेमेस्टरमा विधिशास्त्रमा मात्रै अनुत्तीर्ण भएको बताए। उनका अनुसार परीक्षक र समपरीक्षकको गैरजिम्मेवार व्यवहार तथा हचुवाका भरमा मूल्याङ्कन गर्दा यस्तो परिणाम आएको हो।
विद्यार्थीहरूले आफूहरूलाई अन्यायपूर्ण रूपमा अनुत्तीर्ण गराइएको दाबी गर्दै उत्तरपुस्तिका पुनः मूल्याङ्कन नभए कानुनी उपचार खोज्ने चेतावनी दिएका छन्।
अदालत जाने तयारीमा विद्यार्थी
विधिशास्त्र विषयमा मात्रै ठूलो संख्यामा अनुत्तीर्ण भएपछि केही विद्यार्थी अदालत जाने तयारीमा छन्।
एक विद्यार्थीका अनुसार डिन कार्यालयले उत्तरपुस्तिका पुनः परीक्षणको व्यवस्था नरहेको बताएपछि आफूहरू न्यायका लागि अदालत जाने निष्कर्षमा पुगेका हुन्।
उनले एउटै विषयमा १२९ जना विद्यार्थी अनुत्तीर्ण हुनुलाई सामान्य रूपमा लिन नसकिने दाबी गर्दै उत्तरपुस्तिका पुनः परीक्षण हुनुपर्ने बताए।
‘पुनः परीक्षा दिनुको विकल्प छैन’
त्रिवि कानुन संकायका डिन प्राडा डीएन पराजुलीले भने उत्तरपुस्तिका पुनः परीक्षण गर्ने प्रावधान त्रिविमा नरहेको बताएका छन्। उनका अनुसार अनुत्तीर्ण विद्यार्थीले सम्बन्धित विषयको पुनः परीक्षा दिएर उत्तीर्ण हुनुपर्नेछ।
‘परीक्षा दिनेबाहेक कुनै उपाय छैन। जुन विषयमा फेल हुनुभएको छ, त्यो विषय उत्तीर्ण गर्न पुनः परीक्षा दिनुपर्छ,’ पराजुलीले भने।
उनका अनुसार अनुत्तीर्ण विद्यार्थीहरू अहिले तेस्रो सेमेस्टरमा पुगेका छन् र दोस्रो सेमेस्टरको परीक्षा सञ्चालन हुँदा उनीहरूले विधिशास्त्र विषयको पुनः परीक्षा दिनुपर्नेछ।
डिन पराजुलीले त्रिविमा उत्तरपुस्तिका पुनः परीक्षण गर्ने व्यवस्था नभएको स्पष्ट पारे। उनका अनुसार प्राप्त अंकको पुनर्योग गर्न सकिने भए पनि उत्तरपुस्तिका पुनः मूल्याङ्कन गर्न सकिँदैन।
‘नम्बर कति आएको छ भनेर पुनः हेर्न मिल्छ। तर कपी नै फेरि परीक्षण गर्न मिल्दैन। त्रिविमा त्यो व्यवस्था नै छैन,’ उनले भने।
विद्यार्थीले अन्य विषयमा राम्रो अंक ल्याएको वा पहिलो सेमेस्टरमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा अर्को विषयमा पनि उत्तीर्ण हुनैपर्ने दाबी गर्न नमिल्ने उनको भनाइ छ।
डिन पराजुलीका अनुसार उत्तरपुस्तिका विषयविज्ञ शिक्षकले परीक्षण गर्ने भएकाले उनीहरूले दिएको अंक नै अन्तिम मूल्याङ्कन हो।
‘विज्ञले दिएको नम्बर कसैले पनि परिवर्तन गर्न सकिँदैन। विज्ञ नै अन्तिम मूल्याङ्कनकर्ता हो। अरूले हेरफेर गर्न सक्दैनन्। डिन कार्यालयले त्यसैका आधारमा नतिजा प्रकाशन गर्ने हो,’ उनले बताए।






