२६ श्रावण २०८३, मंगलबार | Wed Aug 12 2026

ब्रड पिक हिमपहिरोमा ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव नेपाल ल्याइयो



काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृङ्खलामा पर्ने ब्रड पिक आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव मंगलबार नेपाल ल्याइएको छ ।

साउन १४ गते ब्रड पिक आरोहणका क्रममा आएको हिमपहिरोमा परी १० जना आरोहीको मृत्यु भएको थियो। मृतकमध्ये ६ जना नेपाली आरोही थिए ।

हिमपहिरोमा ज्यान गुमाएका किलु शेर्पा, निमा शेर्पा र ग्यालु शेर्पाको शव मंगलबार नेपाल ल्याइएको हो। मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूको शवमा आरोही, पर्यटन व्यवसायी, आफन्तजन तथा शुभेच्छुकले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

ब्रड पिक आरोहणकै क्रममा ज्यान गुमाएका नेपाली आरोही पुरबहादुर गुरुङ (युक्त) को शव यसअघि नै नेपाल ल्याइसकिएको छ ।

त्यस्तै, अर्का कीर्तिमानी नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) को शव बेलायत लैजाने तयारी गरिएको छ। हिमपहिरोमा परी ज्यान गुमाएका नवाङ थिन्दु शेर्पाको शव भने नेपाल ल्याउन बाँकी रहेको छ ।

ब्रड पिकमा भएको उक्त हिमपहिरोले नेपाली पर्वतारोहण क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। एकै घटनामा ६ नेपाली आरोहीले ज्यान गुमाएपछि आरोहण सुरक्षा, हिमाली जोखिम र उद्धार तथा शव व्यवस्थापनका विषयमा समेत गम्भीर प्रश्न उठेका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  १० : ३८ बजे