काठमाडौं । नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टी सभापति गगन थापालाई पत्र पठाउँदै १५औँ महाधिवेशनलगायत पार्टीका आगामी गतिविधि तत्काल रोक्न आग्रह गरेका छन् ।
डा. कोइरालाले मंगलबार कांग्रेस केन्द्रीय कार्यसमितिलाई सम्बोधन गर्दै पठाएको तीनबुँदे पत्रमा सर्वोच्च अदालतले दिएको निस्सालाई आधार बनाउँदै अदालतबाट मुद्दाको अन्तिम टुंगो नलागेसम्म पार्टीका महत्वपूर्ण निर्णय तथा गतिविधि यथास्थितिमा राख्न आग्रह गरेका हुन् ।
कांग्रेसको आधिकारिकतासम्बन्धी यसअघिको फैसलामाथि पुनरावलोकन गर्न सर्वोच्च अदालतले साउन २२ गते अनुमति दिएको थियो। अब उक्त विषयमा सर्वोच्चमा पुनः सुनुवाइ हुने भएकाले अन्तिम फैसला नआएसम्म पार्टीका गतिविधि अघि नबढाउन कोइरालाले आग्रह गरेका छन्।
उनले गम्भीर कानुनी तथा नीतिगत संक्रमणको अवस्थामा पार्टीभित्र थप जटिलता र कानुनी संकट उत्पन्न हुन नदिन तत्कालीन महामन्त्री गगनकुमार थापा तथा सम्बन्धित पक्षलाई सचेत गराएका छन्।
महाधिवेशनका सबै गतिविधि स्थगित गर्न माग
कोइरालाले पत्रको पहिलो बुँदामा १५औँ महाधिवेशन वा विशेष महाधिवेशनसँग सम्बन्धित सबै सांगठनिक, प्राविधिक तथा नीतिगत कार्यतालिका तत्काल स्थगित गर्न माग गरेका छन्।
उनले अदालतको अन्तिम फैसला नआएसम्म पार्टीको तर्फबाट दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत, राजनीतिक, सांगठनिक वा आर्थिक निर्णय नगर्न पनि आग्रह गरेका छन्।
‘अदालतको अन्तिम फैसला नआएसम्म पार्टीको तर्फबाट गरिने कुनै पनि दीर्घकालीन प्रभाव पार्ने नीतिगत, राजनीतिक, सांगठनिक वा आर्थिक निर्णयहरू पूर्ण रूपमा यथास्थितिमा राखियोस्,’ पत्रमा भनिएको छ।
त्यस्तै, सर्वोच्च अदालतको पूर्ण इजलासबाट मुद्दाको अन्तिम फैसला नभएसम्म कांग्रेसको सम्पूर्ण सांगठनिक संरचनालाई साविककै अवस्थामा राख्दै अदालतको गरिमा र कानुनी प्रक्रियाको सम्मान गर्न उनले आग्रह गरेका छन्।
‘अवहेलना भए सम्बद्ध पक्ष जिम्मेवार’
कोइरालाले अदालतमा विचाराधीन मुद्दाको अन्तिम परिणामलाई प्रभावित पार्ने गरी कुनै पनि गतिविधि अघि नबढाउन चेतावनीसमेत दिएका छन्।
‘कानुनी राज्यको सिद्धान्तबमोजिम अदालतमा विचाराधीन मुद्दाको अन्तिम परिणामलाई असर पर्ने गरी कुनै पनि गतिविधि अगाडि नबढाउन यो कानुनी ध्यानाकर्षण पत्र पेश गरिएको छ,’ उनले भनेका छन्, ‘अन्यथा अदालतको अवहेलना वा कानुनी प्रतिकूलता सिर्जना भएमा त्यसको जिम्मेवार सम्बद्ध पक्ष नै हुने बेहोरा अवगत गराइन्छ।’
उनले अदालतबाट अन्तिम फैसला नआउँदै महाधिवेशनलगायतका गतिविधि अघि बढाउँदा उत्पन्न हुने कानुनी जटिलताको जिम्मेवारी सम्बन्धित पक्षले नै लिनुपर्ने संकेत गरेका छन्।
गगनलाई ‘सभापति’ नभनी ‘तत्कालीन महामन्त्री’
कांग्रेस केन्द्रीय कार्यसमितिलाई पठाइएको उक्त पत्रको बोधार्थ पार्टी सभापति गगन थापा, प्रदेश, जिल्ला, क्षेत्र, स्थानीय तह, वडा, जनसम्पर्क समिति तथा निर्वाचन आयोगलाई समेत दिइएको छ।
तर, कोइरालाले पत्रमा गगन थापालाई ‘सभापति’ नभई ‘तत्कालीन महामन्त्री गगनकुमार थापा’ भनेर सम्बोधन गरेका छन्। यसले कांग्रेसभित्र पार्टीको आधिकारिकता तथा नेतृत्वसम्बन्धी विवाद थप पेचिलो बनेको संकेत गरेको छ।
सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी यसअघिको फैसलामाथि पुनरावलोकनका लागि निस्सा प्रदान गरेपछि पार्टीभित्र महाधिवेशन तथा सांगठनिक गतिविधि अघि बढाउने कि अदालतको अन्तिम फैसला पर्खने भन्ने विषयमा विवाद चर्किएको हो।






