राष्ट्रियसभा निर्वाचनमा नेकपा र राजपाबीच सहकार्य हुने

२०७६ पुष ३, बिहीबार ११:०३

काठमाडाैं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टीबीच आसन्न राष्ट्रियसभा निर्वाचनका लागि सहकार्य गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको वार्तापछि दुई पार्टीबीच आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि रिक्त हुने चार स्थानमध्ये अन्य पुरुष र अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहको दुई स्थानमा राजपाका उम्मेदवार र दलित पुरुष समूहको दुई स्थानमा नेकपामा उम्मेदवारलाई एकापसमा सघाउने सहमति भएको हो ।

दुई दलबीच राष्ट्रिय राजनीतिका समसामयिक विषयमा नियमितरुपमा छलफल गर्ने र सहकार्यको प्रक्रिया अघि बढाउने सहमतिमा पनि हस्ताक्षर भएको छ ।

सहमतिमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल र राजपाकातर्फबाट संयोजक राजेन्द्र महतोले हस्ताक्षर गरेका छन् ।

वार्तामा नेकपा सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णुप्रसाद पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ तथा राजपाका नेताहरु महन्थ ठाकुर, महेन्द्र यादव, शरत्सिंह भण्डारी र राजकिशोर यादव उपस्थिति थिए ।

सरकारमा सहभागी संघीय समाजवादी नेपालभित्र सरकारबाट बाहिरिने विषयमा छलफल चलेको तथा प्रतिनिधिसभामा सभामुख पद रिक्त रहेको सन्दर्भमा नेकपा र राजापाको नयाँ सहकार्यको सहमति अर्थपूर्ण मानिएको छ ।

राजपाले वर्तमान सरकारलाई समर्थन गरे पनि संविधान संशोधन नगरिएको भन्दै पछि समर्थन फिर्ता लिएको थियो ।

सम्बन्धित समाचार