२३ मंसिर २०८०, शनिबार | Sat Dec 9 2023

पश्चिम नेपालमा फेरि हिमपात र वर्षा हुने, यस्तो छ तीनदिनको माैसम पूर्वानुमान



काठमाडाैं– पश्चिमी वायु सक्रिय भएसँगै देशका पश्चिम भेगको मौसममा फेरि बदली भएको छ। शुक्रबार र शनिबार देशका पश्चिमी भागमा हिमालमा हिमपात र पहाडी क्षेत्रका एक-दुई स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अघिल्लो साता आएको पश्चिमी वायुको प्रभाव शनिबार सकिएको थियो। फेरि पश्चिमी वायु सक्रिय भए पनि यसको प्रभाव भने कमजोर रहने मौसमविद्ले जनाएका छन्।

गतसाता देशैभरि हिमालमा भारी हिमपात र पहाड-तराईमा मध्यम खालको वर्षा भएको थियो। उक्त वर्षाका कारण वायुमण्डलमा आद्रता बढेकाले केही दिनयता तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

तीन दिनको मौसम पूर्वानुमान

पुस ४ गते (शुक्रबार)

दिउँसो: देशको पश्चिमी र मध्य भु-भाग लगायत पूर्वी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। साथै पश्चिम भेगका उच्च पहाडी/हिमाली भू-भागमा हल्का हिमपात र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पश्चिम भेगका उच्च पहाडी/हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात र पश्चिमी पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

पुस ५ गते (शनिबार)

दिउँसो: देशको पश्चिमी भू-भागमा सामान्य बदली र मध्य तथा पूर्वी भू-भागमा आंशिक बदली रहनेछ। पश्चिम भेगका उच्च पहाडी/हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

राति: देशको पश्चिमी भू-भागलगायत मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहनेछ भने बाँकी भू-भागमा मौसम समान्यतया सफा रहनेछ।

पुस ६ गते (आइतबार)

दिउँसो: देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहने छ भने बाँकी भू-भागमा मौसम समान्यतया सफा रहनेछ।

राति: देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहने छ भने बाँकी भू-भागमा मौसम समान्यतया सफा रहनेछ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  १ : ०५ बजे