२ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026

स्ववियु चुनाव फागुन १४ मा



काठमाडौं— त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न आगामी फागुन १४ को मिति तोकेको छ। निर्वाचन मिति तोकेर मातहत निकाय र क्याम्पसलाई जानकारी पठाउन थालिएको छ।

त्रिवि विद्यार्थी कल्याण विभागले स्ववियु निर्वाचनलाई लक्षित गर्दै विद्यार्थी भर्नालगायत काम सक्न क्याम्पसलाई ताकेता गरिसकेको छ। कार्यकारी परिषद्को बैठकले निर्वाचनसम्बन्धी प्रक्रिया थाल्न विभागलाई समेत परिपत्र गरेको छ।

गत वर्ष निर्वाचन समन्वय एवं निरीक्षण समिति गठन गरे पनि विद्यार्थी संगठन र प्रमुख दल तयार नभएपछि निर्वाचन हुन सकेको थिएन। ०७३ मा पनि अन्तिम समयमा त्रिविका अधिकांश क्याम्पसमा निर्वाचन भएन।

गत वर्ष पनि फागुनमै निर्वाचन गर्ने गरी देशभरका क्याम्पसलाई तयारी थाल्न त्रिविले निर्देशन दिएको थियो। तर कांग्रेसनिकट नेपाल विद्यार्थी संघले तत्काल निर्वाचन नगर्न आग्रह गरेपछि मिति घोषणा हुन सकेको थिएन। निर्वाचनभन्दा एक महिना पहिले मिति र कार्यतालिका सार्वजनिक गर्नुपर्ने प्रावधान छ।

त्रिवि क्यालेन्डरमा हरेक दुई वर्षमा चुनाव गर्ने उल्लेख छ। चैत अन्त्यपछि वार्षिक परीक्षालगायत कार्यक्रम हुने हुँदा त्यसपछि निर्वाचन गर्न सम्भव नहुने त्रिविका पदाधिकारी बताउँछन्।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  १ : १४ बजे