१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

राजीव ढुंगानाको अध्यक्षतामा नेविसंघको तदर्थ समिति गठन



काठमाडौँ — नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमिति गठन गरिएको छ । कांग्रेस शीर्ष नेताहरुबीच गत शुक्रबार भएको सहमतिअनुसार बिहीबार सभापति शेरबहादुर देउवाले राजीव ढुंगानालाई अध्यक्षमा मनोनीत गरेका हुन् ।

उनी नेविसंघका तत्कालीन अध्यक्ष प्रदीप पौडेलको कार्यकालमा मनोनीत कोषाध्यक्ष थिए ।

देउवाले मनोज वैद्य (काठमाडौं) र महेश्वरी कुँवर (पाल्पा) लाई नेविसंघको महामन्त्रीमा मनोनीत गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् । नेविसंघको तदर्थ समिति १ सय २७ सदस्यीय बनाउने सहमति छ ।

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७५ फाल्गुण १ गतेको बैठकको निर्णय अनुसार, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम रिक्त हुन गएको नेपाली कांग्रेसको भ्रातृ संस्था “नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति” को गठन पार्टी सभापति शेरबहादुर देउवाद्वारा देहाय बमोजिम गर्नु भएको छ ।

१. श्री राजिव ढुंगाना (सुनसरी) –अध्यक्ष
२. श्री मनोज बैद्य (काठमडौं) –महामन्त्री
३. श्री महेश्वरी कुँवर (पाल्पा) –महामन्त्री

यस तदर्थ कार्यसमितिले–

(१) आजको मितिले ६ महिनाभित्र नेपाल विद्यार्थी संघको आगामी १२ औं केन्द्रीय अधिवेशन सम्पन्न गर्नेछ ।
(२) आगामी १२ औं अधिवेशनसम्म नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले प्रयोग गर्ने विधान बमोजिमका काम, कर्तव्य र अधिकारको प्रयोग गर्नेछ ।
(३) तदर्थ कार्यसमितिमा रहेकाहरु आगामी केन्द्रीय अधिवेशनमा उम्मेदवार हुन पाउने छैनन ।
(४) यस अघि कायम रहेको नेपाल विद्यार्थी संघ केन्द्रीय कार्य समिति विघटन भएको मिति (२०७५ माघ २९ गते) सम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीहरुले नेपाल विद्यार्थी संघको आगामी १२ औं अधिवेशनमा भाग लिन पाउनेछन ।

नेपाल विद्यार्थी संघ तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशिघ्र गरिनेछ ।

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

प्रकाशित मिति : १६ माघ २०७६, बिहिबार  ३ : ०५ बजे