१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

दुर्घटनामा नायिका महिमा सिलवालसहित दुईको मृत्यु



काठमाडाैं— स्कुटर दुर्घटनामा नायिका महिमा सिलवालसहित २ जनाको मृत्यु भएको छ । दुर्घटनामा चितवन भरतपुर महानगरपालिका स्थायी घर भएकी २० वर्षीया महिमा र उनकी दिदी २२ वर्षीया शर्मिला सिलवाल गम्भीर घाइते भएका थिए। महिमाको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र शर्मिलाको काठमाडौंको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बुधबार काठमाडौंबाट चितवन जाँदै गर्दा महिमाले चलाएको बा ९८ प ७०५८ नम्बरको स्कुटर र भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख १३५ नम्बरको बस गजुरीको चम्बासमा आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी रुपक खड्काले बताए ।

बस चालक पाल्पा पिपलडाँडा गाउँपालिका ६ का ४४ वर्षीय रणवीर गौतमलाई इलाका प्रहरी कार्यालय गजुरीले नियन्त्रणमा लिएको छ।

महिमाले एक दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेकी छिन्। उनले ‘कारबाही’ बाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी थिइन्। ‘सकस’, ‘सुब्बा साब’, ‘अप्रिल फुल’, ‘नो स्मोकिङ’, ‘दानव’, ‘एक से एक’ लगायत चलचित्रमा अभिनय गरेकी थिइन्।

पछिल्लो समय भने उनी मोडलिङमा पनि सक्रिय थिइन्। पछिल्लो दुई तीन वर्षयता भने उनको कुनै पनि चलचित्र आएको थिएन।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहिबार  १० : ५९ बजे