५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025

दोस्रो मिथिला महोत्सव अमेरिका अप्रिल १२ देखि १८ सम्म



न्युयोर्क । न्युयोर्कमा आगामी अप्रिल १२ देखि १८ सम्म दोस्रो मिथिला महोत्सव हुने भएको छ ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा मिथिला आर्ट एन्ड कल्चर सेन्टरले न्युयोर्क सिटी हलमा दोस्रो मिथिला महोत्सव अमेरिका २०२० को आयोजना गर्ने घोषणा गरेको हो । साथै, संयुक्त राष्ट्र संघको दीगो विकासको लक्ष्यलाई मिथिला कलाचित्रद्वारा नियमित रूपमा प्रवर्द्धन गर्ने उद्देश्यअनुरूप यो वर्ष मिथिला सम्पदा: दीगो विकासका लागि कला शीर्षकअन्तर्गत दीगो विकासको लक्ष्य नं १ (गरिबीरहित) र नं २ (भोकरहित) लाई केन्द्रको रूपमा राखेर मिथिला कलाचित्र प्रदर्शनी गरिने सेन्टरका संस्थापक एवं कार्यकारी निर्देशक अमित शाहले जानकारी दिए ।

सन् २०१९ अप्रिलमा मिथिला महोत्सव आयोजनाको साथै संयुक्त राष्ट्र संघको मुख्यालयमा “Arts for SDGs: the Mithila Heritage” शीर्षकसहित मिथिला कला प्रदर्शनी आयोजना गरिएको र त्यस किसिमका प्रदर्शनीले मिथिला सम्पदाको सम्बर्द्धन गर्न थप प्रेरणा मिलेको आयोजकले बताएको छ ।

प्रथम मिथिला महोत्सवको अवसरमा न्यूयोर्क सिटी काउन्सिलका सदस्यले मिथिला संस्कृति र महोत्सव दिनलाइ निकट भविष्यमै मिथिला कला तथा संस्कृति दिवसको रूपमा घोषणा गर्ने आव्हान गरेकी थिइन् । यसर्थ, यो वर्षको मिथिला महोत्सव न्युयोर्क सहरद्‍वारा औपचारिक रूपमा मिथिला संस्कृति र महोत्सवको घोषणाको रूपमा मनाइने छ ।

दोस्रो मिथिला महोत्सव अमेरिका, कला र संस्कृतिको प्रदर्शन आयोजना गर्नका लागि सम्पूर्ण अमेरिकावासीलाई सहभागिता, सहयोग र समर्थनका लागि अनुरोध गरिएको छ ।

 

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ९ : २४ बजे