३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

दिवेश पोखरेल अमेरिकन आइडलमा उपविजेता बने



न्युयाेर्क । नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलमा उपविजेता बन्न सफल भएका छन् । शोको उपाधि जस्ट स्यामले जितेकी छन् ।

उत्कृष्ट पाँचमा पुगेका अन्य प्रतियोगीभन्दा धेरै भोट पाएपछि स्यामलाई विजेता घोषणा गरिएको हो । दिवेशको यो उपलब्धिले नेपाली समुदायमा उत्साह छाएको छ ।

अमेरिकन आइडलको १८ औं संस्करणको अडिसन राउन्डदेखि नै दिवेशले चर्चा बटुलेका थिए । निर्णायक लियोनल रिचीले दिवेशको गायिकीलाई बब मार्लीसँग दाँजेका थिए । अर्का निर्णायक लुक ब्रायनले पहिल्यै भनिसकेका थिए– ‘मेरो विचारमा दिवेश हामीले अमेरिकन आइडलमा अहिलेसम्म पाएकामध्ये सबैभन्दा ठूलो स्टार हुन सक्छन् ।’

हाल अमेरिकाको कान्सास, विचिटामा बस्ने दिवेशको स्टेज नेम ‘आर्थर गन’ हो । यो शो एबिसी टेलिभिजनबाट प्रसारण भएको थियो । कोभिड–१९ का कारण सबै प्रतियोगीले घरबाटै प्रस्तुति दिएका थिए ।

दिवेश काठमाडौंमै जन्मिए, हुर्किएका थिए । उनको परिवार सन् २००८ मा अमेरिका बसाइँ सर्‍यो तर पढाइका कारण उनीचाहिँ सन् २०१४ तिर अमेरिका गएका थिए ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ८ : १८ बजे