– सूर्य मोक्तान र राजन लामा, डल्लास
कोरोनाको संक्रमणले अझै विश्व आक्रान्त नै छ । छिट्टै यसको उपचार पत्ता लाग्छ अनि मानव जनजीवन सामान्य रुपमा फर्किन्छ भनेर आशा र कामना गर्नु बाहेक अर्को उपाय छैन । संक्रमणको यो समयमा स्थानीय प्रशासनबाट जारी नियमन र स्वास्थ्यविज्ञहरुका सल्लाहलाई अबलम्बन गर्दै दैनिक जीवनलाई अघि बढाउनु भन्द अरु विकल्पहरु उति छैनन् । कोरोनाको कहरले मान्छे मान्छे बीचको दुरीलाई बढाईएको छ भने बिश्वासलाई घटाईएको छ । बाहिरी दुनियाको गतिबिधि कम गरी घर भित्रै बढी बस्नु पर्ने बाध्यता सिर्जना गरेको छ । बाहिर धेरै जाउ कोरोनाको डर, भित्रै बसौ त उकुस मुकुस, तनाव, चिन्ता जस्ता मानसिक समस्याले सताउने ! यस्तो चुनौतीपूर्ण समयमा सन्तुलित जीवन यापन गर्न निकै आवश्यक हुन्छ ।
यस्तै जटिल परिस्थितिसंग चुनौती दिदै टेक्सासको डल्लास बस्ने तामाङ समुदायका केही युवाहरुको एक समूह केही गर्न उत्साहित भए । उनीहरुले खेलकुदमार्फत युवाहरुमा शारीरिक र मानसिक स्वास्थ्यमा टेवा, युवाहरु बीच एकता, मित्रता अनि युवाहरु माझ साँस्कृतिक चेतना अभिबृद्दी तथा सम्बध बिस्तारमा थप सुदृढ गर्ने बारेमा छलफल गरे । सोही उद्देस्या प्राप्तीका लागि तत्काललाई सूर्य मोक्तान ब्यवास्थापक रहने गरी तामाङ सोसाईटी अफ अमेरिका, डल्लास-टेक्सास अन्तरगत फूटबल टिम गठन गरी राजन वाईबा तामाङ्गलाई कप्तानको जिम्मेवारी सुम्पिए । टिममा तामाङ र गैह्र तामाङ सम्मिलित १५ जना फूटबल प्रेमी युवाहरु आबद्द रहेका छन् ।
डल्लास फोर्थ वर्थ क्षेत्रमा नेपाली समुदायको बाक्लो बसाइ भएकोले बिगत केही बर्षदेखि नै नेपाली समुदायमा खेलकुदको गतिबिधिहरु भैरहने गर्दछन् । केही राम्रा नेपाली फुटबल क्लबहरु पनि छन् । तर सबैले समान अवसर पाउँना मुश्किल भैरहेको बेला यो डल्लास तामाङ फुटबल क्लबमा फुटबलप्रेमी युवाहरुलाई अवसर दिएर अघि बढ्न प्रेरणा मिल्नेछ । यो क्लब तामाङ समुदाय अन्तरगत गठन भए पनि भेदभाव रहित बनाउँने र सबैलाई समान अवसर दिने यसको उद्देश्य रहेको छ ।
क्लबको लागि चाहिने खेल सामग्रीहरु, ड्रेसहरु समुदायका शुभचिन्तकहरुबाट प्राप्त सहयोग रकमबाट गरिएको छ । उत्साहित युवाहरुको यो प्रयासमा हौसला बढ़ाउन टेक्सास बाहिरका तामाङ समुदायका शुभचिन्तकहरुबाट पनि सहयोग प्राप्त भएका छन् ।
क्लबमा आबद्द युबाहरु बिगत केही महिनादेखि कोरोनाको चुनौतीलाई सावधानीपुर्बक सामना गर्दै डालास आसपासमा पायक पर्ने खेल मैदानहरुमा खेल अभ्यास गरी रहेका छन् । क्लबको योजना र उद्देेेेश्य अनुसार नियमित अभ्यास गर्दै स्थानीय तथा बाहिरका बिभिन्न प्रतियोगिताहरुमा सहभागी हुनेछ ।
हालै डल्लास गोर्खाज फुटबल क्लबले आयोजना गरेको ९आौ दशै कपमा डल्लास तामाङ फुटबल क्लबले पनि पहिलो पटक सहभागिता जनायो । पहिलो पटक प्रतिस्पर्धामा भिड्दा प्रस्तुती केही फितलो देखिए पनि खेलाडीहरुका लागि राम्रो अनुभव भएको थियो भन्न सकिन्छ । समूह “C” मा छानिएको डल्लास तामाङ फुटबल क्लबको पहिलो खेल ओक्लाहमा नेपालिज फुटबल क्लबसँग भएको थियो । प्रतियोगिताकै एक दाबेदार टिम मानिएको ओक्लाहमा टिमसंग भिड्नु डल्लासको नयाँ टिमको लागि चुनौती थियो । खेलमा ओक्लाहमा टिमले देखाएको मैत्रीभावले निकै सजिलो बनाउँनका साथै साहश बढायो । प्रतियोगितामा दोस्रो खेल आयोजक टिम डल्लास गोर्खाज ह्वाईटसंग भएको थियो । आयोजक टिम पनि प्रशस्तै प्रतिभाशाली युवा खेलाडीहरुले भरिएको हुँदा उनीहरुको कडा प्रहरलाई रोक्न नयाँ टिमलाई धौ धौ पर्नु अस्वाभाविक थिएन ।
दुई उत्कृष्ट टिमहरुसंग भिड्ने अवसर पाउनु नयाँ क्लवको लागि निकै राम्रो अवसर बन्यो। क्लबमा आवद्द खेलाडीहरुले आफ्नो खेलको स्तरलाइ स्वयं परिक्षण गर्ने मौका मिल्यो भन्द फरक नपर्ला । निकै अनुभवी र स्तरीय दुई टिमबाट केहि स्किल र खेल रणनीति सिक्ने अवसर भयो। दुवै खेलहरुमा नयाँ खेलाडीहरुले सक्दो प्रयास गरेका थिए ।
प्रतियोगितामा डल्लास तामाङ्ग फुटबल क्लवका तर्फबाट सूर्य मोक्तान तामाङ्ग, राजन वाईबा तामाङ्ग, गणेश घिशिङ्ग, निशान तामाङ्ग, शुन्दर गौतम, शहज दाहाल, रोजन गुरूङ्ग, शिशिर भन्डारी, शाईमन बराईली, छिरिङ्ग मोक्तानले खेलेका थिए ।
तामाङ सोसाईटी अफ अमेरिका, डल्लासका प्रेसिडेन्ट छिरिङ दोङ लामा र महासचिव शंकर घिसिङको उपस्थितीले हौशला बढाएका थिए । डल्लास स्थित युवाहरुबाट गरिएको यो प्रयासको प्रशंसा गर्दै उहाँहरुले निरन्तर सहयोग गर्ने प्रतिबद्दता जनाएकोले खेलाडीहरु अझै थप जोश सहित हौसिएका छन् ।