२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

नेकपामा दाहाल-नेपाल पक्षका निर्णयहरु



काठमाडौं । नेकपाको बहुमत पक्ष पुष्पकमल दाहाल–माधव समूहको केन्द्रीय कमिटी बैठकले पार्टीको अध्यक्षमा माधवकुमार नेपाललाई चयन गरेको छ । बैठकले वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेपाललाई अध्यक्ष चयन गरेको हो ।

बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले ऐतिहासिक राजनीतिक परिवर्तन, संविधान, लोकतन्त्र, पार्टी एकताको विरुद्धमा कार्य गरेकाले पार्टी अनुशासनको गम्भीर उल्लंघन गरेकाले पार्टीको अन्तरिम विधान अनुसार अनुशासनको कारबाही गरी पार्टी अध्यक्षको जिम्मेवारीबाट मुक्त गरिएको छ ।

त्यसपछि रिक्त हुन पुगेको एक जना अध्यक्ष पदमा नेता माधवकुमार नेपाललाई चयन गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
त्यस्तै बैठकले नेता कृष्णबहादुर महरालाई स्थायी कमिटी बैठकमा मनोनीत गरेको छ ।

बैठकले संसद विघटनको घोषणालाई असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी, निरंकुश र स्वेच्छाचारी भन्दै भर्त्सना र अस्वीकार गर्ने निर्णय पनि गरेको छ ।

संसदको अधिवेशन आह्वान गर्न र संसदको नियमित काम सञ्चालन गर्न माग गरेको छ । संसद विघटनको निर्णयविरुद्ध संघर्ष गर्ने निर्णय पनि गरेको छ ।

बैठकले नेकपाको कैलाली जिल्ला अध्यक्ष दीर्घ सोडारीमाथि गरिएको कारबाही फुकुवा गर्दै पुरानै जिम्मेवारीमा फर्काउने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ८ : ०९ बजे