न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले दोस्रो पटक महाभियोग प्रस्ताव पारित भएको छ । यस पटक गत साता संसद भवनमा ट्रम्प समर्थक प्रवेश गरेर हिंसा मच्चाए पछि उक्त हिंसा भड्काएको भन्दै महाअभियोग प्रस्ताव गरिएको हो ।
सन् २०१९ मा उनले युक्रेनका राष्ट्रपतिलाई उनका प्रतिद्वन्द्वी जो बाडेनका छोरा माथि अनुसन्धान गर्न दवाव दिएको भन्दै महाअभियोग प्रस्ताव गरिएको थियो । तल्लो सदनले रित गरेको भएपनि सिनेटले अस्वीकार गर्दा त्यस बेला ट्रम्प बचेका थिए ।
यस पटक भने कतिपय ट्रम्पको पार्टी रिपब्लिकनका केही सिनेटरहरुसमेत महाअभियोगको पक्षमा रहेको बताइएको छ । यद्यपि ट्रम्पले यही जनवरी २० तारिखका दिन राष्ट्रपति निर्वाचित जो वाइडेनलाई सत्ता हस्तान्तरण गर्दै छन् ।
यस पटक तल्लो सदनमा महाभियोग प्रस्ताव २३२ भोटसहित पारित भएको हो । महाभियोग प्रस्तावको विपक्षमा १९७ जना सांसद मात्र देखिए । रिपब्लिकन पार्टीकै दस जना सांसदले महाभियोग प्रस्तावको समर्थन गरे ।
आफ्नो कार्यकाल सकिनै लाग्दा ट्रम्पले महाभियोगको सामना गर्नुपर्ने भएको छ । तल्लो सदनबाट पारित भएको प्रस्ताव अब सिनेटले पारित गर्नुपर्नेछ । त्यसका लागि सिनेटको दुई तिहाइ बहुमत आवश्यक हुन्छ । दुई तिहाइ बहुमतका लागि रिपब्लिकनका सांसदहरूले पनि मत दिनुपर्ने हुन्छ ।
सय सिट रहेको माथिल्लो सदनमा ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव पारित हुन रिपब्लिकन पार्टीका कम्तीमा १७ जना सिनेटरको साथ चाहिन्छ । न्युयोर्क टाइम्सले भने रिपब्लिकन पार्टीका २० जना सिनेटर महाभियोगमा पक्षमा उभिने देखिएका उल्लेख गरेको छ ।
डेमोक्र्याटहरूले संसद्मा पेस गरेको प्रस्तावमा ट्रम्पबाट राष्ट्रपतीय शक्ति खोस्न उपराष्ट्रपति माइक पेन्स तथा मन्त्रिमण्डललाई आग्रह गरिएको थियो । तर उपराष्ट्रपति पेन्सले अमेरिकी संविधानको २५औं संशोधनमार्फत ट्रम्पलाई हटाउने कुरा अस्वीकार गरेपछि संसद्मा महाभियोग प्रस्तावमाथि मतदान भएको हो ।
हाउस अफ रेप्रिजेन्टेटिभ्सकी सभामुख नान्सी पेलोसीले ट्रम्पका कारण अमेरिकी लोकतन्त र संविधानमाथि नै खतरा रहेको भन्दै उनलाई तत्काल पदबाट हटाउनुपर्ने बताएकी छन् ।