१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

पछि हट्यो ओली, एमाले केन्द्रीय कमिटी ब्युँतने



काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पछि हटेका छन् । पार्टीभित्रको विवादमा एकोहोरो अघि बढी रहेका ओली पूर्ववत् केन्द्रीय कमिटीको बैठक आव्हान गर्न तयार भएका हुन् ।

पार्टीभित्र असन्तुष्ट रहेका पक्षको मागका आधारमा एमालेको मंगलबार सम्पन्न स्थायी कमिटीले बुधबार हुने आयोजक कमिटीको बैठकबाट त्यसलाई अनुमोदन गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न स्थायी कमिटीको बैठकले मुलुकको पछिल्लो राजनीतिक अवस्था जटिल र संकटपूर्ण भएको निष्कर्षसहित केन्द्रीय कमिटीको बैठक यही असार १८ गते आव्हान गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले केही शर्तसहित गत जेठ २३ गते पार्टीलाई एकताबद्ध बनाउन २०७५ जेठ ३ गते नेकपा (माओवादी केन्द्र) सँगको एकतापूर्वको संरचनामा सञ्चालन गर्न तप्पर भएको घोषणा गरेका थिए । अध्यक्ष ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा जोडिएका नेपाल पक्षका केही तत्कालीन सांसद्ले हस्ताक्षर फिर्ता गर्नुपर्ने शर्त राखेका थिए । उक्त हस्ताक्षर फिर्ता भएमा पार्टीले गरेका कारबाही फिर्ता गरिने र यसबीचका विवादका कारण कसैप्रति पूर्वाग्रह नराखिने अध्यक्ष ओलीको प्रस्ताव थियो ।

यसअघि स्थायी कमिटीको यही असार १३ गतेको बैठकले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्धा, पार्टीको महाधिवेशन आयोजक कमिटीमाथि उठाइएका विवादलगायत विषयमा छलफल गर्न १६ गते बिहान ११ महाधिवेशन आयोजक कमिटीको बैठक बस्ने तय गरेको थियो ।

सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलाबाट एमाले र माओवादी एकतापूर्वको अवस्थामा रहेपछि एमालेको गत फागुन २८ गतेको केन्द्रीय कमिटीको बैठकले आयोजक कमिटी गठन गरेको थियो । उक्त निर्णयमा नेता माधवकुमार नेपाल पक्ष असन्तुष्ट रहँदै आएकामा वार्ता र संवादबाट पार्टी एकतालाई कायम राख्ने कोशिश भइरहेको छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  १२ : ४२ बजे