अर्को देशको गृहयुद्धमा अमेरिकी छोराछोरी अनन्तकालसम्म लडाउन सकिन्न : राष्ट्रपति बाइडेन

२०७८ भाद्र १, मंगलवार १३:२८

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको राष्ट्रिय सेनाले आफ्नो देशको लागि लड्न नसकेको बताएका छन् । उनले अफगान सेनाले आफ्नो देशको लागि आफैँ लड्न सक्नु पर्ने उल्लेख गर्दै तर किन लडेन भन्ने कुरा खोजिरहेका बताए । साथै उनले अफगानिस्तानको गृह युद्धमा अमेरिकी छोराछोरी अनन्त कालसम्म लडाउन नसकिने उल्लेख गरेको छ ऽ

“जे होस्, गत साताका विकासक्रमले अफगानिस्तानमा अमेरिकी सैन्य सङ्लग्नता अहिले अन्त्य गर्नु उचित निर्णय थियो भन्ने पुष्टि गर्छ” उनले भने ।

उनले सोमबार टेलिभिजनबाट दिएको सन्देशमा सो कुरा बताइएको छ । उनले पछिल्लो समयमा अफगानिस्तानको सेनाले अमेरिकाले दिएको तालिम तथा सुविधाअनुसार आफै लड्न नसकेको बताउँदै आएका छन् ।

उनले भने, अफगान फौजले उनीहरूकै देश र जनताका लागि पनि जे जसरी लड्न सक्नुपर्थ्यो, त्यो नचाहेको देखियो । अब यसो भएपछि अमेरिकी सैनिक कति समयसम्म त्यहाँ रहेर लड्न सक्छन् ? अब अमेरिकाको भनाइ यो हो कि अब अमेरिकी सेना युद्धमा मर्नु हुँदैन ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएको विषयमा उनले आफ्नो निर्णयको बचाउ पनि गरे । उनले यो निर्णयमा आफू कटिबद्ध रहेको पनि बताए ।

युद्धग्रस्त अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि अमेरिकाले आलोचना खेपिरहेको छ । तर पनि राष्ट्रपति बाइडेनले भने यो निर्णय सही समयमा गरिएको उचित निर्णय हो भनेका छन् । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाडेर गएपछि गत आइतबार नै तालिबानले सत्ता कब्जा गरेको छ । आइतवार तालिबानले लडाइँ जितेको घोषणा पनि गरेको छ ।

अफगानिस्तानका तालिबान सशस्त्र विद्रोही पुनःसत्तामा आएसँगै अफगानिस्तानमा करिब २० वर्ष लामो अमेरिकी नेतृत्वको गठबन्धनको उपस्थितिको पनि औपचारिकरुपमै अन्त्य भएको छ । तालिबानले महिनौँअघिदेखि देशैभरि आफ्नो नियन्त्रण विस्तार सुरु गरेका थिए । पछिल्ला दिनमा त्यो गति तीव्र बन्यो र उनीहरूले केही दिनभित्रै अफगानिस्तानभरि आफ्नो नियन्त्रण कायम गरे ।

यति चाँडै उनीहरु सत्तामा आउलान् भन्ने अनुमान भने नगरिएको अमेरिकी अनुमान थियो । तालिबानको तीव्र विस्तारका बाबजुद पनि स्वयं अफगान सेनाले नै आफ्ना देशका विरुद्धमा लड्न नचाहेको विषयले पनि अहिले नै अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुनु आवश्यक रहेको पुष्टि गरेको बाइडेनले प्रष्ट गरे ।

सम्बन्धित समाचार