१२ मंसिर २०८०, मंगलबार | Wed Nov 29 2023

राष्ट्रपतिबाट ९०३ लाई विभूषण प्रदान, ५२३ कैदीबन्दीलाई माफी



काठमाडौँ । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले ती विभूषण प्रदान गर्ने घोषणा गरेकी हुन् ।

नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मान पदवीका लागि देशको राजनीतिक, आर्थिक, सामाजिकलगायत विविध क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तिलाई पदकका लागि सिफारिस गरेको थियो ।

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई नेपाल रत्न प्रदान गरिनेछ भने भने मन्त्रिपरिषद्का पूर्वअध्यक्ष सुवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्र गौरव पदवी दिइने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, स्वर्गीय तुलसीलाल अमात्य, स्वर्गीय मङ्गलादेवी सिंह, मोहनचन्द्र अधिकारी, स्वर्गीय दुर्गानन्द झा र स्वर सम्राट स्वर्गीय नारायण गोपाल गुरुवाचार्यलाई महाउज्जवल राष्ट्रदीप प्रदान गरिनेछ ।

सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणी पाँच जनालाई, उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी एक जनालाई, प्रसिद्ध प्रवल जनसेवाश्री द्वितीय श्रेणी २४ जनालाई, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी ३९ जनालाई, सुप्रवल जनसेवाश्री तृतीय श्रेणी १६१ जनालाई, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणी आठ जनालाई, प्रवल जनसेवाश्री चतुर्थ श्रेणी ३१९ जनालाई र जनसेवाश्री पञ्चम श्रेणी १९० जनालाई प्रदान गर्ने गृह मन्त्रालयले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

राष्ट्रपतिद्वारा ५२३ कैदीबन्दीलाई माफी

यसैगरी संविधान दिवसकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५२३ जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ । नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४, ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३, सर्वोच्च अदालतले २०७७ साउन १९ गते गरेको फैसलालगायतका आधारमा मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुको कैद मिनाहा गरी माफी दिइएको हो ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  १ : ११ बजे