३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

न्युयोर्कमा फिल्म निर्देशक श्रेष्ठलाई सम्मान



न्युयोर्क । नेपाली चलचित्र जगतका बरिष्ठ निर्देशक, लेखक तथा नेपाली टेलिभिजन कार्यक्रमका प्रस्तोता दीपक श्रेष्ठलाई न्युयोर्कमा भव्य सम्मान गरिएको छ । न्युयोर्क नेवा गुठीले उनको सम्मान गरेको हो ।

छोटो समयका लागि अमेरिका आएका बरिष्ठ निर्देशक श्रेष्ठलाई न्युयोर्क नेवा गुठीका संस्थापक बीके नेवा, संस्थापक अध्यक्ष आदित्य महर्जन तथा वर्तमान अध्यक्ष विजयमान सिंहले खादा लगाइदिएर सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
नेपाली सिनेमामा गाउँले नामक चलचित्रको निर्देशन गरी यस क्षेत्रमा प्रवेश गरेका उनले ३० भन्दा बढी चलचित्रमा निर्देशन गरिसकेका छन् ।

हालै उनले घिन्ताङ नामक अन्तर जातीय फिल्म सकाएर अमेरिकाको भ्रमणमा आएको जानकारी गराए ।
कार्यक्रममा नेवा गुठीले नेवारी कला र संस्कृति जोडेर एउटा छोटो फिल्म बनाउने निर्णय गरेको छ । उक्त फिल्म बनाउने जिम्मेवारी बरिष्ठ निर्देशक श्रेष्ठलाई नै दिने निर्णय भएको छ । उनले उक्त कुरा सहर्ष स्वीकार गर्दै सक्दो सहयोग गर्ने बचन दिएका छन्।

कार्यक्रममा उनले आफूलाई न्युयोर्क नेवा गुठीले सम्मान गरेकोमा धन्यवाद ज्ञापन गर्दै नेवार समुदाय आफ्नो भाषा, कला संस्कृतिको सरक्षणमा जुटेकोमा गर्व लागेको बताए ।
ज्याक्सन हाइडको उडसाइड क्याफेमा भएको उक्त कार्यक्रमको सञ्चालन गुठीका सचिव सन्तोष महर्जनले गरेका थिए भने कार्यत्रममा स्वागत तथा समापन अध्यक्ष विजयमान सिंहले गरेका थिए ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ७ : ११ बजे