- सन्त रिसाल, न्यूयोर्क अमेरिका

चारैतिरबाट चर्को दबाब परेपछि बल्ल आर्थिक अपराध गरेका अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । उनले गरेको अपराध छानविन गर्न संसदीय छानविन समिति गठन भएको छ । नेपाल हेर्दाहेर्दै श्रीलंकाजस्तै टाट पल्टने अवस्थामा पुगेको छ । राजनीतिक नेतृत्व बेइमानी र भ्रष्ट भएका कारण देश यस्तो दयनीय अवस्थामा पुगेको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वासपात्र शर्माका अक्षम्य आर्थिक अपराध गरी मुलुकलाई चरम आर्थिक संकटमा पुर्याएका हुन् । उनका कारण मुलुक ठप्प भयो । सबै क्षेत्रबाट उनलाई राजीनामा दिनेमात्र होइन कारबाही गर्न माग भएको छ । नेकपा एमालेले छानविन समिति गठन गरेर कारबाही गर्न संसद्मै कुरा उठायो । नेपाली काँग्रेसका केही नेताहरुले पनि अर्थमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराए । माओवादी केन्द्रभित्रको प्रचण्डइतरका केही नेताले पनि अर्थमन्त्री प्रकरणमा चासो देखाए । तर न देउवा नत प्रचण्डले अर्थमन्त्री शर्मालाई हटाउन चासो देखाए । आफ्नै सत्ता जाने डर भएपछि बल्ल देउवाले शर्मालाई राजीनामा दिन भने र उनले राजीनामा गरे । सत्ताका भोका देउवा र प्रचण्ड दुवैलाई सत्ताबाहेक अरु केही चाहिएको छैन । देश जहाँसुकै जाओस्, कुनै मतलव छैन ।
अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गर्नेभन्दा अघिल्लो रात अनाधिकृत मानिसहरुलाई अर्थ मन्त्रालयमा प्रवेश गराई करका दरहरु हेरफेर गर्न लगाए । यो ठूलो अक्षम्य आर्थिक अपराध हो । योभन्दा ठूलो गल्ती उनले के गरे भने अर्थ मन्त्रालयमा भएको सीसीटीभी फुटज हटाएर अपराध लुकाउने प्रयास गरे । यो कुरा एक कान दुई कान हुँदै मैदान भयो । तर पनि उनले अपराध स्वीकार गरेर तत्काल राजीनामा दिएका भए राम्रो हुन्थ्यो तर त्यसो गरेनन् । प्रचण्ड र देउवाको आशीर्वाद पाएसम्म कसैले हटाउन सक्दैन भन्दै घुर्की लगाए । अब जनता सडकमा उत्री शर्मालाई कारबाही गर्नुपर्छ भने देउवा र प्रचण्डलाई सत्ताच्युत गर्नुपर्छ नत्र मुलुक श्रीलंकाजस्तै टाट पल्टिन धेरै दिन पर्खनु पर्दैन ।
जनमतबाट होइन सर्वोच्चको परमादेशबाट देउवा प्रधानमन्त्री बनेको एक वर्ष भयो । यो अवधिमा उनले मुलुकको हितका लागि एउटा पनि काम गरेनन् । अपराधी प्रचण्ड, पद लोलुप माधव नेपालसित मिलेर देउवाले भाग शान्ति जय नेपाल भन्दै अपवित्र गठबन्धन गरी मुलुक लुट्ने र चुस्ने काम गरेका छन् । यी नेताहरु कसैलाई पनि देश र जनताको माया छैन । जसरी हुन्छ सत्ता लम्ब्याउने र मुलुकलाई तहसनहस पार्ने अनि कमाउनेबाहेक अरु सोचै देखिएन । यस्ता अपराधी पृष्ठभूमिका अनैतिक नेताहरु भएपछि कसरी देश उभो लाग्छ ? गम्भीर प्रश्न खडा भएको छ ।
देउवा, प्रचण्ड, नेपाल, यादवको स्थानीय चुनावमा गठबन्धन गरेजस्तै प्रदेश र संघीय चुनावमा पनि गठबन्धन गरी मुलुक कब्जा गर्ने सोच बनाएका छन् । सोही कारणले उनीहरु यो अपवित्र गठबन्धन तोड्ने पक्षमा छैनन् । यो गठबन्धन मुलुकका लागि सेतो हात्ती सावित भएको छ । छ सात महिनामा आलोपालो मन्त्री फेर्ने अनि मुलुक लुट्ने काम गठबन्धनले गरेको छ । देश र जनतालाई बन्धक बनाएर मुुलुक लुट्ने र चुस्ने काम जसरी भइरहेको छ यो अक्षम्य अपराध हो । अब यो अपराधका दोषी शर्मामात्र होइनन् देउवा, प्रचण्ड, नेपाल र यादव पनि हुन् । यस्ता कामचोर नेताहरु देश र जनताकालागि अभिशाप बनेका छन् । अब जनताले हिसाबकिताब नखोज्ने हो विकल्प नदिने हो भने मुलुकको अस्तित्व नै समाप्त हुनेछ ।
रुस र युक्रेनको युद्ध देखाइ दिनुहुँजसो पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरी गठबन्धन सरकारले जनताको ढाड सेक्ने, अचाक्ली महँगी बढाउने काम गरेको छ । यो सरकार बनेयता सतप्रतिशतभन्दा बढी महँगी बढेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने अनि कमिसन खाने काम सरकारले गरेको छ । कमिसनकै चक्करले नेपाल आयल निगमले पटक पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरे पनि घाटामा छ । इन्डियन आयल कर्पोरेसनलाई तिर्न ३० अर्ब भन्दा बढी बाँकी छ । रकम भुक्तानी नगरे तेल रोक्ने चेतावनी भारतले दिइसकेको छ । तर देउवा सरकार कानमा तेल हालेर बसेको छ ।
अहिलेको गठबन्धनजस्तो अनैतिक, अवसरवादी सरकार यसअघि नेपालमा कहिल्यै पनि बनेको थिएन । जसरी पनि सत्ता टिकाउने र मुलुक लुट्नेबाहेक अरु नसोचेको यो अवैध र अपराधी सरकारलाई अब जनताबाहेक कसैले पनि हटाउन सक्दैन । जनता अन्याय र अत्याचार सहेर बस्ने हो भने जनता स्वयं पनि डुब्नेछन् र मुलुक पनि डुब्नेछ होइन आफू पनि बाँच्ने र मुलुक पनि बचाउने हो भने तत्कालै जनताले विकल्प खोज्नैपर्छ । त्यो भनेको अब नयाँ जनआन्दोलन नै हो । जनताले नयाँ जनआन्दोलन गरी यो गठबन्धन सरकार बर्खास्त गरी राजतन्त्र र हिन्दु राष्ट्रसहितको नयाँ सरकार, नयाँ नेपाल बनाउनैपर्छ । त्यसका लागि अब जनता स्वयंले आन्दोलनको नेतृत्व गर्नैपर्छ ।
राजतन्त्र र हिन्दु राष्ट्र हटाई गणतन्त्र नेपाल बनाएपछि नेपाल स्वर्ग हुन्छ भनी जनतालाई भ्रममा पारेका नेताहरुले यो डेढ दशकको अवधिमा आफ्नो स्वार्थ पूरा गर्नुबाहेक आम जनताका लागि के दिए ? जनताले औँला ठड्याउने बेला भएको छ । दुई छाक खान नपाउने, खल्तीमा सुको पैसा नहुने हरितन्नम नेताहरु आज देश र जनता लुटेर करोडपतिमात्र होइन अर्बपति बनेको छन् । राजनीतिको सबैभन्दा ठूलो लाभ उनीहरुले मात्र लिइरहेका छन् । राजनीतिक नेतृत्व तहमा नातागोताले भरेका छन् । आफ्ना मान्छेलाईमात्र अबसर दिएका छन् । मुलुक लुटेको पैसा विदेशी बैंकमा थुपारेका छन् । उनीहरुलाई देश र जनतको पटक्कै माया छैन । अप्ठेरो परे, देश तहसनहस भए विदेश भाग्ने सुरसारमा बसेका यस्ता अपराधी नेताहरुबाट मुलुक र मुलुकबासीले आशा गर्ने कुनै ठाउँ छैन ।
नेपालको इतिहासमै नेपाली जनता सबैभन्दा अप्ठेरो अवस्थामा आइपुगेका छन् । राजनीतिक नेतृत्व बेइमानी अपराधी भएकै कारण मुलुक अपराधमय भएको छ । अपराधीलाई कारबाही हुँदैन , निरपराधीले न्याय पाउँदैन । यस्तो अवस्थामा पुगेको यो मुलुक बचाउन अब राजसंस्था ब्युँताउनुको विकल्प छैन । राजाविनाको देश पानीविनाको माछाजस्तै भएको छ । त्यसैले अब आम नेपाली जनताले कठोर निर्णय गर्नैपर्ने र मुलुका बचाउन एक पटक उठ्नै पर्ने भएको छ नत्र नेपाल र नेपालीको अस्तित्व यी अवराधी नेताहरुकै कारण समाप्त हुने र मुलुक विदेशीको खेलमैदान बन्नेछ ।