३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

सियोलमा भागदौड मच्चिँदा १५० भन्दा बढीको मृत्यु



दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित एक धार्मिक उत्सवमा भागदौड मच्चिँदा कम्तीमा १५० जनाभन्दा बढीको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् ।

ईसाई धर्माबलम्बीहरूले प्रत्येक बर्ष अक्टोबर ३१ मा मनाउने ‘हेलोवीन’मा सहभागी मानिसहरू राजधानीको प्रसिद्ध इटावोन जिल्लामा भागदौड हुँदा शनिबार उत्सवमा सहभागी राति एक लाखभन्दा बढी मानिस त्यस क्षेत्रका साँघुरा गल्ली र घुमाउरो सडकहरूमा थुनिएपछि उक्त अप्रिय घटना भएको प्रहरीले जनाएको छ ।

घटनाप्रति दुःख ब्यक्ति गर्दै दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले आइतबार राष्ट्रिय शोकको घोषणा गर्दै टेलिभिजनमार्फत गरेको एक सम्बोधनमा भने, “एउटा त्रासदी र विपत्ति आयो जुन हुनु हुँदैनथ्यो ।”

उनले भने, “सरकारले घटनाको विस्तृत अनुसन्धान गर्नेछ र भविष्यमा फेरि यस्तै दुर्घटना नहोस् भनी आवश्यक सुधार गर्नेछ तथा सावधानी अपनाउनेछ ।”

“दुर्घटनास्थलको भ्रमण गर्नुअघि र उद्धारकर्मीहरूसँग कुरा गर्नुअघि सञ्चारकर्मीसँग बोल्दै राष्ट्रपति योलले भने, “घटनापछि मेरो हृदय भारी बनेको छ र पीडा नियन्त्रण गर्न गाह्रो भएको छ ।”

प्रत्यक्षदर्शीहरूले साँघुरो, ढलान भएको गल्लीमा फसेका मानिसहरू एकअर्कामाथि ढलेका र घुँडा टेकी उठ्ने र भीडबाट बाहिर निस्कन कोसिस प्रयास गर्दागर्दै भीडले कुल्चेर जीवन त्याग्न बाध्य भएका बताएका छन् ।

स्थानीय समयानुसार राति १०:०० बजे भएको भागदौडमा परी १९ विदेशीसहित कम्तीमा १५१ जनाको मृत्यु भएको अग्नी नियन्त्रण विभागले जनाएको छ ।

मृत्यु हुनेमा अधिकांश २० वर्ष भन्दा कम उमेरका युवती रहेको र ८९ जना घाइते भएको बताइएको छ । गृह मन्त्रालयले मृतकमध्ये अधिकांशको पहिचान भइसकेको जनाएको छ ।

“हेलोवीन घटनाका क्रममा धेरैलाई कुल्चिएका कारण हताहत हुनेको सङ्ख्या धेरै हुनगएको छ ,” अग्नि नियन्त्रक चोइ सियोङ–बिओमले घटनास्थलमा रहेका पत्रकारहरूलाई बताउए । घटनामा कैयौँ व्यक्ति सख्त घाइते भएकोले मृतकको सङ्ख्या बढ्न सक्ने उनले बताए ।

सियोलका अधिकारीहरूले आइतबार बिहानसम्म ३५५ जना हराइरहेका अपुष्ट रिपोर्ट प्राप्त भएको जनाएका छन् ।

५० जनाको हृदयघात भएको आशङ्का

दक्षिण कोरियाको राजधानी सियोलको एक जिल्लामा भएको भागदौडमा मृत्यु भएका १५० मध्ये करिब ५० जनाको हृदयघात भएको आशङ्का गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय प्रसारक वाईटीएनका अनुसार सियोलको रात्रिकालिन पर्यटकीय गन्तब्य इटेवोनमा रहेको एक बारमा एक अज्ञात सेलेब्रिटीको कार्यक्रम हेर्न ठूलो सङ्ख्यामा भीड जम्मा भएको समय भागदौड मच्चिएको थियो ।

योनहाप समाचार संस्थाका अनुसार स्थानीय समयअनुसार राति ११:३० बजे हेलोवीन उत्सवको क्रममा भागदौड मच्चिएपछि करिब ५० जनाको हृदयाघात भएको थियो ।

श्वास प्रश्वासमा समस्या भएका ८१ जनालाई उद्धार गरिएको अग्निनियन्त्रक अधिकारीले सरकारलाई दिएको एक रिपोर्टमा उल्लेख गरिएको छ ।

उद्धारकर्मीलाई ‘कार्डियोपल्मोनरी’ उपचारका लागि तत्काल घटनास्थलमा पठाइएको सञ्चारमाध्यमहरूले बताएका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ४ : १९ बजे