४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026

बेलायती राजासँग दक्षिण अफ्रिकीले फिर्ता मागे विश्वको सबैभन्दा ठूलो हिरा



बेलायती राजाको राज्याभिषेकअघि उनको राजदण्डमा रहने विश्वको सबैभन्दा ठूलो हिरा दक्षिण अफ्रिकी नागरिकहरुले फिर्ता मागेका छन् ।

स्टार अफ अफ्रिका भनिने यो हिरा ५३० क्यारेटको हिरा दक्षिण अफ्रिकामा १९०५ मा फेला परेको थियो । त्यसको दुई वर्षपछि तत्कालीन उपनिवेश सरकारले सो हिरा राजपरिवारलाई बुझाएको थियो ।

सो हिरालाई राजदण्डमा जडिएको थियो । शनिबार राजा चार्ल्स सोही राजदण्ड बोकेर राज्याभिषेक गर्नेछन् । तर, उपनिवेशमा गोरा शासकहरुले लुटेका अन्य कलाकृति, धनमाल फिर्ता माग्ने क्रम चलिरहेका बेला दक्षिण अफ्रिकीहरु पनि सो हिरा फिर्ता चाहन्छन् ।

‘त्यो हिरा दक्षिण अफ्रिकामा फिर्ता आउन जरुरी छ । यो हाम्रो गर्व, पैत्रिक सम्पत्ति र संस्कृतिको निसानी हो,’ हिरा फिर्ता माग्न अनलाइन अभियान चलाइरहेको अभियन्ता तथा वकिल मोथुसी कामंगा भन्छन् ।

सो अनलाइन अभियानमा हालसम्म ८ हजारजतिले हस्ताक्षर गरिसकेका छन् । ‘मेरो विचारमा उपनिवेशमुक्त हुनु भनेको केही अधिकार प्राप्त गर्नु मात्र होइन, बरु हामीबाट लुटिएको कुरा फिर्ता लिनु पनि हो भन्ने अफ्रिकीहरुले बुझ्न थालदेका छन्,’ उनी भन्छन्।

बेलायतमा कलिनन प्रथम भनिने सो हिरा ३ हजार १०० क्यारेटको कलिननबाट काटिएको थियो । जुन प्रिटोरियानजिककै खानीमा फेला परेको थियो । सोही हिराबाट काटिएको अर्को सानो हिरा कलिनन दोस्रो चाहिँ राजाले लगाउने मुकुटमा जडिएको छ । एजेन्सी

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  ६ : ४५ बजे