ललितपुरको बालकुमारीमा कोरिया भाषा परीक्षालाई लिएर भएको विवाद बढ्दा प्रहरीसँगको झडपमा दुई युवकको ज्यान गएपछि सरकारका उच्च पदस्थहरुबीच आरोप प्रत्यारोप हुन थालेको छ ।
एकीकृत समाजवादीको बैठकस्थलबाट निस्किएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला युवाहरूको आन्दोलनस्थल पुगेको विषयलाई लिएर एक अर्कामाथी दोष थोपर्न सुरु भएको हो । उनी प्रदर्शनस्थल पुगेपछि केही युवाले धक्का दिए, गाली गरे अन्त्यमा गाडीबाट झरेपछि आगो लगाइदिएका थिए ।
सरकारी गाडी जलाएपछि त्यहाँ खटिएको प्रहरीले प्रदर्शनकारीलाई लखेटेको थियो त्यही क्रममा एकजनाको बन्दुकको कुन्दाले हान्दा र अर्काको गोली लागेर ज्यान गयो । दैलेखका सुजन रावतको प्रहरीले कुटपिट गर्दा तथा अछामका वीरेन्द्रबहादुर शाहको गोली लागेर ज्यान गएको थियो ।
संसदको सुशासन समितिमै आईजीपी वसन्त कुँवरले मन्त्री ज्वालाकै कारण यो घटना हुन पुगेको बताएका छन् । यदि ज्वाला त्यहाँ नगएको भए दुई युवा मारिनेसम्मको हिंसा नहुने उनले बैठकमा ठोकुवा गरे ।
संसदीय समितिले सोमबार उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँर र सशस्त्र प्रहरी महानरिक्षीक राजु अर्यालसमेत झिकाएर लामो छलफल गरेको थियो ।
‘मन्त्री (प्रकाश ज्वाला) सवार गाडी आन्दोलनकारीमाझ पसेपछि अवस्था बिग्रियो । यदि मन्त्री चढेको गाडी नपुगेको भए यति गम्भीर घटना हुने थिएन,’ छलफलमा झिकाइएका आईजीपी कुँवरले सुनाए,‘संघीय राजधानीमै मन्त्रीको सुरक्षामा तलमाथि हुन नदिन प्रहरी अगाडि बढ्दा घटना भयो। प्रहरी बालकुमारीको आकाशे पुलमा पुगिसक्दा गाडी जलिसकेको थियो।’
कुँवरले उक्त घटनाका क्रममा मन्त्री ज्वाला आकाशे पुलमुनिको तल्लो सर्भिस लेनमा ११.५५ मा पुगेपछि मध्यान्ह १२.२० मा गाडी जलाइएको पनि बताए ।
गृहमन्त्री श्रेष्ठले पनि यदि मन्त्री ज्वाला त्यहाँ नगएको भए घटना दुई युवकको ज्यान जाने अवस्थासम्म नपुग्ने निष्कर्ष सुनाए । कुँवरले परिस्थिति भड्किने अवस्था देखेपछि फिल्डमा खटिएका प्रहरीले गोलीचलाउन बाध्य हुनुपर्ने तर्क पनि पेश गरे ।
कतिपय सांसदहरुले मन्त्री ज्वालाले पदबाट राजीनामा दिनु पर्ने पनि बताएका छन् । एमालेका सांसदहरुले भने बालकुमारी घटनामा नैतिकताका आधारमा गृहमन्त्रीसहित प्रधानमन्त्रीले पनि राजीनिामा दिनुपर्ने बताए । ‘सरकार नै समग्रमा नालायक, असफल र निकम्मा भएको छ’, एमाले सांसद कष्णगोपाल श्रेष्ठले भने, ‘वर्तमान सरकारका प्रधानमन्त्रीले नै नैतिकताका आधारमा राजीनामा दिँदा सबैभन्दा राम्रो हुन्छ।’
यसैबीच मन्त्री ज्वालाले भने आफुलाई बैठकस्थलबाट मन्त्रालय जान लाग्दा त्यहाँ प्रदर्शन भइरहेको सम्बन्धमा जानकारी नगराइएको बताएका छन् । साथै त्यहाँ अबरोध भएपछि आफु फर्केर बैठकस्थल आएको उल्लेख गर्दै समयमै प्रहरी नपुग्दा गाडी जलाउने काम गएको जिकीर गरेका छन् ।