१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

न्यूनतम् योग्यता नपुगेपछि प्रस्तावित राजदूत भट्टरईले लिए नाम फिर्ता



सरकारद्वारा श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको न्यंनतम् योग्यता नपुग्ने भएपछि नाम फिर्ता लिइएको छ । व्यस्तताको कारण जनाउँदै राजदूत नियुक्तिको प्रक्रियाबाट नाम फिर्ता लिने निवेदन संसदीय सुनुवाइ समितिमा दर्ता गराए पनि खास कारण उनले स्नातम पास गरेको प्रमाणपत्र बुझाउन नसकेको बताइएको छ ।

प्रस्तावित राजदूत भट्टराईको विषयमा निर्णय लिनका लागि संसदीय सुनुवाइ समितिको बैठक मंगलबार ३ बजे बोलाइएको थियो ।

न्यूनतम योग्यता नपुगेको व्यक्तिलाई सरकारले सिफारिस गरेर पठाउनु ठिक नभएको समितिमा सभापति इश्वरी न्यौपानेको भनाइ छ । ‘परराष्ट्र मन्त्रालयले हेरेर पठाउनुपर्ने हो । उहाँको न्यूनतम योग्यता नै पुगेन । यो फरक अवस्था रहेकाले कसरी निर्णय गर्ने भनी समितिमा छलफल गर्छौं,’ उनले भनिन् ।

भट्टराईलाई राजदूतमा सिफारिस गरेको मंगलबार ४५ दिन पुग्दै थियो । उनका सम्बन्धमा समितिले मंगलबार निर्णय लिनुपर्ने थियो । तर, भट्टराईले भने असोज ११ गतेसम्म समय मिलेमा स्नातक पास गरेको प्रमाणपत्र ल्याउन सक्ने बताएका थिए ।

समिति सभापति न्यौपानेलाई मंगलबार फोन गरेर भट्टराईले असोज ११ सम्मको समय मागेका थिए । ‘मलाई फोन गरेर ११ गतेसम्म सर्टिफिकेट ल्याउन सक्छु भन्नुभएको थियो । ४५-५० वर्षपहिले कलकत्तामा पढेको र प्रमाणपत्र हराएको भन्नुभयो । आफूले राजदूत नियुक्तिसम्बन्धी निर्देशिका हेरिनँ र मन्त्रालयले पनि केही भनेन भन्नुभयो,’ न्यौपानेले भनिन् ।

राजदूतमा सिफारिस भएको समयसीमा घर्किन लागेको र निर्णय लिनैपर्ने जानकारी गराएपछि भट्टराईले नाम फिर्ता लिने जानकारी गराएको न्यौपानेले बताइन् ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ५ : ३२ बजे