२४ भाद्र २०८३, बुधबार | Thu Sep 10 2026

ट्रम्प समर्थक अर्बपति मस्कले दिन थाले समर्थकलाई १० लाख डलर



टेस्ला र स्पेसएक्स कम्पनीका मालिक अर्बपति इलोन मस्कले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनसम्म पेन्सिलभेनियामा दर्ता भएका एक जना मतदातालाई हरेक दिन १० लाख अमेरिकी डलर दिने घोषणा गरेका छन् ।

यसका लागि मतदाताले मस्कको अभियान समूह अमेरिका पीएसीको समर्थक याचिकामा हस्ताक्षर गर्नु पर्ने छ । यसरी याचिकामा हस्ताक्षर गरेका मध्येबाट छानेर उनले हरेक दिन एक जनालाई उक्त रकम दिने छन् । यो उनले शनिबार टाउन हलको कार्यक्रममा पहिलो चेकको हस्तान्तरण गरेर सुरुवात गरिसकेका छन् ।

यो याचिकाले अभिव्यक्ति स्वतन्त्रता र बन्दुक अधिकारको समर्थनमा वकालत गर्दछ । मस्कका अनुसार शनिबार राति टाउन हलको कार्यक्रममा पहिलो चिठ्ठाको चेक दिइएको थियो।

अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदै भने मस्क रिपब्लिकन पार्टीका उम्मेदबार डोनाल्ड ट्रम्पका प्रमुख समर्थक दाता मध्येका एक हुन् । उनले यसअघि नै ट्रम्पको अभियानलाई ७५ मिलियन अमेरिकी डलर दिइसकेका छन् । उनले दश लाख डलर दिन सुरु गरेको पेन्सिलभेनिया स्विङ स्टेट मानिन्छ ।

मस्कको यो अभियानले राष्ट्रपति चुनावमा ट्रम्पलाई सघाउ पुग्ने अपेक्षा राखिएको छ । पछिल्ला केही वर्षमा इलोन मस्क रिपब्लिकन पार्टीका नेता र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रमुख समर्थकका रूपमा देखापरेका छन् । ट्रम्पलाई समर्थन गर्ने उद्देश्यले मस्कले जुलाईमा अमेरिका पीएसी नामक अभियान सुरु गरेका हुन् ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  २ : २४ बजे