१७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026

प्रधामन्त्री केपी ओलीले भने – तीनकुने घटनाको जिम्मेवारी ज्ञानेन्द्र शाहले लिनु पर्छ



प्रधानमन्त्री केपी शर्मा ओलीले गएको शुक्रबार तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताएका छन् । सोमबार संसदमा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले तीनकुने घटनाको पृष्ठभूमिमा पूर्वराजा ज्ञानेन्द्र रहेको ठोकुवा गर्दै उक्त कुरा बताएका हुन् ।

‘पूर्वराजा ज्ञानेन्द्र शाहले गत ७ फागुनमा आफू अघि बढ्न साथ देऊ भन्दै वक्तव्यबाजी गर्नुभयो,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसको लगत्तै ठाउँ-ठाउँमा पूर्वराजाको स्वागतमा कार्यक्रम राखियो र जनमत भड्काउने काम सुरु भयो ।’

उनले २५ फागुनमा कथित स्वागत सवारी आयोजना गरेर दुर्गा प्रसाईको नाम नलिइकन चैत १५ मा समाज बिथोल्न लागि परेका एक जना अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित जनकमान्डर तोकेर हिंसात्मक कार्यमा खटाएको बताए ।

१५ चैतमा राजावादीले तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको मृत्यु भएको छ भने सरकारी तथा निजी कार्यालयहरु, निजी भवनहरु, सरकारी तथा निजी सवारी साधनहरुमा तोडफोड, आगजनी तथा लुटपाट भएका थिए । दर्जनौ घाइतेहरुको अझै अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  १२ : ०२ बजे