९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025

राजसंस्थाको पक्षमा नाराबाजी गर्ने अमेरिकी नागरिकलाई नेपालबाट निष्कासन गरिने



राजसंस्थाको समर्थन र सरकारको विरोधमा नाराबाजी गर्ने ५८ वर्षीय अमेरिकी नागरिक जुलियन किर्पाल ब्लिसलाई नेपालबाट निष्कासन गरिने भएको छ । चैत १४ गते माइतीघरमा राजसंस्थाको पक्षमा नाराबाजी गर्दै आक्रामक भएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।  

पक्राउपछि अनुसन्धानका लागि उनलाई अध्यागमन विभागमा पठाइएको थियो । अध्यागमन विभागले अनुसन्धान गरेर गृह मन्त्रालय पठाएको उनलाई डिपोर्ट गर्ने निर्णय गरेको हो ।
 
गृह मन्त्रालयले आइतबार डिपोर्ट गर्ने निर्णय गरेको हो । मन्त्रालयको निर्णयअनुसार उनी डिपोर्ट भएको दिनदेखि दुई वर्षसम्म नेपाल आउन पाउनेछैनन् । गृहको निर्णयसँगै उनलाई डिपोर्ट गर्ने प्रक्रिया सुरु भइसकेको बताइएको छ ।  

अनुसन्धानका क्रममा ब्लिसले आफ्नो बयानमा आफ्नो उद्देश्य हिन्दु धर्मको संरक्षण, गाईको रक्षा र मानव बेचबिखनबाट महिला तथा बालबालिकाको सुरक्षाको वकालत गर्नु रहेको बताएका थिए । उनले नेपाल र भारतमा यस विषयमा काम गर्दै आएको बताए पनि अनुसन्धानको क्रममा आफू लहैलहैमा लागेर त्यस्तो गतिविधिमा संलग्न भएको बताएका छन् ।

उनले ‘कृपया, शुद्ध शाकाहारी भोजन खानुहोस्, प्लास्टिक जलाउने र फ्याँक्ने कार्य अपराध हो । त्यसैले सधैं प्लास्टिकलाई अस्वीकार गर्न बोतल र कन्टेनर प्रयोग गर्नुहोस्’ भन्ने ब्यानरसहित कार्यक्रम गरिरहेको क्रममा ‘भ्रष्ट सरकार खारेज गरौं’, ‘कुलमान घिसिङ हामी तिम्रो साथमा छौं’ जस्ता प्लेकार्डसहित सरकारविरुद्ध नाराबाजी र राजसंस्थाको पक्षमा नारा लगाएपछि प्रहरीले पक्राउ गरेको थियो ।  

ब्लिसले ‘टेन मिलियन काउज’ नामक अभियान पनि चलाउँदै आएका छन् । यही नामबाट चलाइएको फेसबुक पेजमा उनले नेपालका विभिन्न ठाउँमा गई ‘शाकाहारी अभियान’ चलाएको देखिन्छ । विभिन्न जिल्लाका विद्यालय र प्रहरी अधिकारीहरूसँगको उनको तस्बिरहरू पनि सामाजिक सञ्जालमा छन् ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ११ : ०३ बजे