२३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026

११ जिल्लाबाट २१ जनाले गरे झण्डै १८ करोडको अबैध करोबार



प्रहरीले ११ जिल्लाबाट अवैध वित्तीय कारोबारमा संलग्न २१ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका सबै भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार र करछलीलगायतका कार्यमा संलग्न रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।

उनीहरुले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँ अवैध कारोबार गरेको बताइएको छ । उनीहरुले व्यक्तिगत तथा संस्थागत रुपमा अवैध कारोबारबापत प्राप्त गरेको गैरकानुनी रकमलाई डिजिटल वालेट (सजिलो पे र पेवेल नेपाल प्रालि) कम्पनीहरुको नाममा नेपालमा रहेका बैंक खाताहरुमा जम्मा गर्ने गरेको सीआईबीको दावी छ ।

यसरी बैंक खातामा जम्मा गरिएका रकमलाई विभिन्न रेमिट्यान्स भुक्तानी गर्ने कम्पनीहरुले उक्त डिजिटल वालेट कम्पनीमार्फत ईमनी बनाइ सो रकम रेमिट्यान्सबापत भुक्तानी पाउनुपर्ने विदेशमा रहेका नेपाली कामदार तथा विद्यार्थीका नेपालमा रहेका आफन्तको खातामा ट्रान्सफर गर्ने गरेको फेला परेको छ ।

यसरी रकमको ट्रान्सफरमा संलग्न भएका सम्बन्धित मनी ट्रान्सफर र त्यसका सञ्चालक समेतलाई छानबिन भइरहेको बताइएको छ ।

सीआईबीले पक्राउ गरेकामा डीएस ट्रेडर्स तथा रेमिट्यान्सका वीरेन्द्र साह र दीपेन्द्र साह छन् । उनीहरुले २ अर्ब ८२ करोड, १९ लाख ३३ हजार १८ रुपैयाँ कारोबार गरेको देखिएको छ ।

त्यसैगरी दीपज्योति ट्रेडर्सका श्रवण कुमार साह (महोत्तरी) को १ अर्ब ५१ करोड २० लाख ६० हजार ४२४ रुपैयाँ, रिया ट्रेडर्सका तारालाल यादव (सप्तरी) को १ अर्ब ३९ करोड ५५ लाख ३५ हजार ४२५ रुपैयाँ, आनन्द ट्रेडर्सका हरेराम महतो (सर्लाही) को १ अर्ब २ करोड ६३ लाख ९८ हजार ८४७ रुपैयाँ, न्यु सन्ध्याका निरोज कुमार महतो (धनुषा) को ८४ करोड ७ लाख ८६ हजार ५८४ रुपैयाँको अवैध कारोबार भेटिएको छ ।

यसबाहेक अलिता मनी ट्रान्सफरकी अलिता देवी महतो (धनुषा) र धनुषाकै प्रकाश सिंहकोको ९६ करोड ७५ लाख ४६ हजार ६०० रुपैयाँ, श्री एन्जल इन्टरप्राइजेज (धनुषाका अरुण कुमार साहको ८६ करोड ८५ लाख ३४ हजार ५७३ रुपैयाँ, आर एन्ड आर सबरेमिट प्राइभेट लिमिटेड पर्साका प्रदीप कुमार साहको १ अर्ब १ करोड १५ लाख ९१ हजार ९२० रुपैयाँ, जय मा जानकी मनी ट्रान्सफर धनुषाका सञ्जीव कुमार महतोको ६४ करोड ३ लाख ८८ हजार ५०५ रुपैयाँको कारोबार अवैध रहेको सीआईबीले जनाएको छ ।

यसबाहेक पुजा सप्लायर्स नवलपरासीका राजकमल लोनियाको ९७ करोड ५९ लाख ९८ हजार ३२५ रुपैयाँ, टासी ट्राभल्स एन्ड टुर्स नवलपरासीकी भीम कुमारी गुरुङको ७९ करोड ७१ लाख २४ हजार १८४ रुपैयाँ, शिवम् इन्टरप्राइजेज सप्तरीका रामविलास साह र ममता कुमारी साहको ९९ करोड २८ लाख २६ हजार ७७० रुपैयाँ, सास्विका मनी ट्रान्सफर पर्साका विकरर्णजंग राणाको ६८ करोड ६४ लाख ५६ हजार ४०७ रुपैयाँ, गोल्डेन स्काई टुर्स एन्ड ट्राभल्सका गणपति पाण्डे (नवलपरासी) को ९१ करोड १२ लाख ७५ हजार ८३२ रुपैयाँ, खुसी मनी ट्रान्सफरका सलमा खातुन (वीरगन्ज) को ७५ करोड ५५ लाख २६ हजार ३५८ रुपैयाँको अवैध कारोबार गरेका छन् ।

त्यसैगरी राधिका ट्रेडर्सकी सुशीला कुमारी शाहु (सप्तरी) ले ५७ करोड ४८ लाख ९४ हजार ८२२ रुपैयाँ, हिमालयन मनी ट्रान्सफरका गोविन्द प्रसाद आचार्य (चितवन) ले ५१ करोड ४९ लाख ९ हजार ७४४ रुपैयाँ र सगरमाथा रेमिट्यान्सका शम्भु मेहता (सप्तरी)को ५७ करोड ३२ लाख ५० हजार ७६९ रुपैयाँको अवैध कारोबार रहेको सीआईबीले जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ६ : ०७ बजे