राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो १०० दिन पूरा गरेका छन् । यस अवधिमा उनले कार्यपालिकाको शक्तिको भरपुर प्रयोग गर्दै ऐतिहासिक निर्णयहरू गरेका छन्, जसले अमेरिकी सरकारको संरचनालाई मात्र बदलेको छैन, विश्व व्यवस्थामा नै हलचल पैदा गरेका छन् ।
कार्यकारी आदेशहरूको बाढी
ट्रम्पले यस समयसम्म १४२ वटा कार्यकारी आदेश हस्ताक्षर गरिसकेका छन्, जुन कुनै पनि राष्ट्रपतिले पहिलो १०० दिनमा गरेको भन्दा धेरै हो । उनले पहिलो सातामै ३७ आदेश जारी गरेका थिए, जसमा आप्रवासन, उर्जा नीतिलगायतका विषयहरू समावेश थिए । तर, ट्रान्सजेन्डर सैनिकहरूलाई सेनाबाट हटाउने र जन्मसिद्ध नागरिकता रद्द गर्ने जस्ता आदेशहरूमा अदालतले रोक लगाएका छन् । मे महिनामा सर्वोच्च अदालतले यी मुद्दाहरूमा निर्णय दिनेछ, जसले संवैधानिक संकट निम्त्याउन सक्छ ।
बाइडनको विरासत मेटाउने प्रयास
ट्रम्पको प्रमुख लक्ष्यहरूमध्ये एक पूर्व राष्ट्रपति जो बाइडनको नीतिहरू उल्टाउनु रहेको देखिन्छ । उनले आफ्नो कार्यकाल सुरु हुनासाथ ७८ वटा बाइडनकालीन आदेशहरू रद्द गरेका थिए, जसमा जलवायु नियमन, कोभिड – १९ नियन्त्रणका उपाय र विविधता सम्बन्धी नीतिहरू समावेश थिए । अहिलेसम्म १११ वटा बाइडनकालीन आदेशहरू उल्टाइएका छन्, जुन बाइडनले आफ्नो पहिलो १०० दिनमा ट्रम्पको नीतिहरू उल्टाउने रेकर्डभन्दा धेरै हो ।
कानून निर्माणमा अवरोध
कार्यकारी आदेशहरूमा ध्यान केन्द्रित गर्दै ट्रम्पले यस समयसम्म केवल ५ वटा विधेयकहरूमा हस्ताक्षर गरेका छन्, जुन आधुनिक समयमा कुनै पनि राष्ट्रपतिको लागि सबैभन्दा कम हो । उल्लेखनीय मध्ये लेकेन राइली एक्ट हो, जुन आप्रवासनमा कडा नीति लागू गर्ने कानून हो । यसले कंग्रेसको गहिरो मतभेद र ट्रम्पको एकतर्फी कार्यवाही प्रतिको रुझान देखाउँछ ।
जनवरी ६ को दंगाकारीलाई माफी
ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो घण्टामै जनवरी ६ को क्यापिटल दंगाका सबै १,५०० आरोपीहरूलाई माफी दिएका थिए, जसमा ओथ किपर्स र प्राउड ब्वाइजका सदस्यहरू समावेश छन् । उनले १४ जना दक्षिणपन्थी चरमपन्थीहरूको सजया पनि कम गरेका छन् । आलोचकहरूले यसले राजनीतिक हिंसालाई प्रोत्साहन दिने बताएका छन् भने समर्थकहरूले यसलाई “बाइडनको अन्यायपूर्ण कारवाहीको अन्त्य” भनेका छन् ।
सरकारी कर्मचारीहरूको ठूलो संख्या हटाउने अभियान
इलोन मस्कको सरकारी कार्यक्षमता विभाग (डोज) ले ट्रम्प प्रशासनको सबैभन्दा विवादास्पद नीतिहरू मध्ये एक हो । यस विभागले हजारौं सरकारी कर्मचारीहरूलाई कामबाट हटाएको छ, तर केही कर्मचारीहरू कानूनी चुनौती पछि फिर्ता भएका छन् । मस्कले सीपीएसीमा “सरकारको फाल्तू खर्च काट्ने” आफ्नो प्रतिबद्धता जनाएका थिए, तर आलोचकहरूले यसले महत्वपूर्ण सरकारी एजेन्सीहरूलाई क्षति पुर्याएको बताएका छन् ।
सीमा नियन्त्रण र रेकर्ड तल्लो आप्रवासन
ट्रम्पको आप्रवासन नीतिले ठूलो प्रभाव पारेको छ । मार्चमा मात्र ७,१८० जनाले सीमा पार गरे, जुन अहिलेसम्मको सबैभन्दा कम हो । बढी निर्वासन र कडा नियन्त्रणले रूढीवादीहरूबाट प्रशंसा बटुलेको छ भने मानव अधिकार समूहहरूले यसको कडा विरोध गरेका छन् । सर्वोच्च अदालतले उनको निर्वासन योजनाको केही भाग रोक लगाएको छ, जसले थप कानूनी लडाइँ आउने संकेत गरेको छ ।
ट्यारिफ र आर्थिक अनिश्चितता
ट्रम्पको व्यापार युद्ध फेरि सुरु भएको छ। अमेरिकामा अहिले २८% को औसत ट्यारिफ दर छ, जुन १९०१ पछिको सबैभन्दा बढी हो । मार्चमा मुद्रास्फीति २.४% मा झरेको छ, तर अर्थशास्त्रीहरूले उनको नीतिले यस वर्ष अर्थतन्त्रलाई मन्दीमा धकेल्न सक्ने चेतावनी दिएका छन् ।
मतदाताको ध्रुवीकृत राय
ट्रम्पको मतदाता स्वीकृति ४२% छ, जुन मार्चमा ४५% थियो। दलगत विभाजन स्पष्ट छ । ८५% रिपब्लिकनले उनलाई समर्थन गरेका छन्, जबकि केवल ८% डेमोक्रेटले मात्र समर्थन गरेका छन् । आधा अमेरिकीहरूको भनाई छ कि उनी इतिहासको सबैभन्दा नराम्रा राष्ट्रपतिमध्ये एक हुनेछन् ।
पहिलो १०० दिनले कार्यकारी शक्ति, कानूनी लडाइँ, र आमूल परिवर्तन गर्ने ट्रम्पको शासन शैली स्थापित गरिसकेको छ । उनको दीर्घकालीन सफलता अदालतहरू र २०२६ को मध्यावधि निर्वाचनमा निर्भर गर्दछ । जसले जे भनेपनि एक कुरा स्पष्ट छ: यो सामान्य प्रशासन होइन ।