मिनेसोटामा शनिबार बिहान दुई राज्य सांसदलाई लक्षित गरी हमला भएकोमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन् । हत्याराको खोजी भइरहेको छ भने राज्यका गभर्नर टिम वाल्ज्ले यसलाई “लक्षित राजनीतिक हिंसा” भनेका छन्।
मिनीपोलिस नजिकैको ब्रुकलिन पार्क शहरमा डेमोक्र्याट सांसद मेलिसा होर्टम्यान (५५) र उनका पति मारिए । यसैसँग सम्बन्धित अर्को हमलामा करिब १५ किलोमिटर टाढा रहेको जोन हफम्यान (६०) र उनकी पत्नीलाई पनि घरमै गोली हानियो । हफम्यान पनि डेमोक्र्याट राज्य सिनेटर हुन् । शल्यक्रियापछि उनको अवस्था स्थिर रहेको बताइएको छ ।
प्रहरी अधिकारीको भेषमा आएको संदिग्धको खोजी गरिरहेको छ । संदिग्धको नाम भ्यान्स लुथर बोल्टर (५७) रहेको बताइएको छ र उनको गिरफ्तारीका लागि सूचना दिनेलाई ५०,००० डलर पुरस्कारको घोषणा गरिएको छ ।
बोल्टरले राज्यका सिनेटर हफम्यानसँग राज्यको कार्यबल विकास बोर्डमा काम गरेका थिए, तर अधिकारीहरूले उनले कुनै पनि राजनीतिज्ञलाई चिनेका थिए कि छैनन् भन्ने बारेमा अनुसन्धान गरिरहेका छन् ।
प्रहरीका अनुसार उनले नक्कली ब्याज र वर्दी प्रयोग गरेर पीडितहरूको घरमा प्रवेश गरेका थिए र आपतकालीन बत्ती जडान गरिएको प्रहरी गाडी जस्तो देखिने गाडी लिएर गएइका थिए । राज्य सिनेटर हफम्यान र उनकी पत्नीसँग सम्बन्धित घटनाबारे बिहान २:०० बजे पहिलो आपतकालीन फोन आएको थियो । त्यसपछि बिहान ३:३५ मा प्रहरीलाई अर्को फोन आएको थियो, जसले हाउस स्पीकर होर्टम्यानको घरमा पनि घट्ना भएको पत्ता लाग्यो । होर्टम्यानको घरमा प्रहरी र संदिग्धबीच गोली हानाहान भएको थियो, तर उनी भाग्न सफल भए ।
ब्रुकलिन पार्कका प्रहरी प्रमुख मार्क ब्रुलीले एफबीआई, स्वाट र सयौं प्रहरी अधिकारीहरूसँग मिलेर प्रहरी “व्यापक खोजी” मा संलग्न रहेको बताएका छन् । उनले प्रहरीले संदिग्धको गाडी नियन्त्रणमा लिएको र उनी पैदल यात्रा गरिरहेको विश्वास गरिएको बताए ।
राज्यभरका निर्वाचित जनप्रतिनिधिहरुलाई सतर्क गराइएको छ र उनको गाडीमा प्रदर्शनका पर्चा भेटिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको “नो किंग्स” विरोध प्रदर्शन रद्द गरिएको छ । एक विज्ञप्तिमा ट्रम्पले “संयुक्त राज्य अमेरिकामा यस्तो भयानक हिंसा सह्य हुने छैन,” र अधिकारीहरूले “संलग्न जो कोहीलाई पनि कानूनको पूर्ण हदसम्म कारबाही गर्नेछन्” भनेका छन् ।
राज्यका सार्वजनिक सुरक्षा आयुक्त बब ज्याकब्सनले सार्वजनिक सेवामा रहेकाहरूलाई “हिंसात्मक र कायरतापूर्ण तरिकाले लक्षित” गरिएको बताएका छन् । उनले शनिबार मिनेसोटाका लागि “अन्धकारमय दिन” भएको बताए ।
गभर्नर वाल्जले गोलीकाण्डको प्रतिक्रियामा राज्य आपतकालीन सञ्चालन केन्द्र सक्रिय गरेका छन् । गभर्नरले मिनेसोटाले “एक महान नेता गुमाएको र आफुले प्रिय साथी गुमाएको” बताए । उनले होर्टम्यानलाई “एक जबरदस्त सार्वजनिक सेवक, मिनेसोटामा एक प्रतिष्ठित व्यक्तित्व र एक दिग्गज” भन्दै हरेक दिन राज्यलाई अझ राम्रो ठाउँ बनाउन कटिबद्ध भएर उठ्ने व्यक्ति रहेको बताउ ।
पूर्व उपराष्ट्रपति अल गोरले पनि होर्टम्यानप्रति श्रद्धाञ्जलि अर्पण गरे, जसले अमेरिकी सिनेटर हुँदा छोटो समयका लागि उनीसँग काम गरेकी थिइन् । गोरले भने, “उनी छोटो समयका लागि मात्र त्यहाँ थिइन्, तर उनको स्थायी प्रभाव थियो ।” उनले राजनीतिक हिंसाका स्वीकार्य नह्ने बताए ।
पूर्व हाउस स्पीकर न्यान्सी पेलोसीले एक विज्ञप्तिमा लक्षित गोलीकाण्डबाट आफू “मर्महत” भएको बताइन् । “राजनीतिक रूपमा प्रेरित हिंसाको यो वातावरण अन्त्य हुनुपर्छ,” पेलोसीले भनिन्, उनकका पतिलाई २०२४ मा उनीहरूको घरमा राजनीतिक रूपमा प्रेरित चोरीको क्रममा हमला गरिएको थियो ।
पेशाले अधिवक्ता होर्टम्यान २००४ मा मिनेसोटा हाउस अफ रिप्रिजेन्टेटिभमा निर्वाचित भएकी थिइन् र २०१९ देखि २०२५ सम्म हाउस स्पीकरको रूपमा सेवा गरिन् । मिनेसोटाकी डेमोक्र्याट अमेरिकी सिनेटर एमी क्लोबुचरले एक विज्ञप्तिमा भनिन्, “उनले महिला अधिकारको रक्षा, स्वच्छ ऊर्जामा लगानी, र बालबालिकाका लागि निःशुल्क स्कूल लंच सुरक्षित गर्ने प्रयासहरूको नेतृत्व गरिन् ।”
२०२० मा, जर्ज फ्लोयडको हत्यापछि उनी प्रहरी सुधारको वकालतकर्ता बनिन्, सफलतापूर्वक मिनियापोलिस प्रहरीद्वारा फ्लोयडको मृत्युको कारण बनेको प्रहरी चोक होल्डमा राज्य प्रतिबन्ध लगाउन मद्दत गरिन् । उनका दुई छोराछोरी थिए । उनका पति मार्क पनि मारिए । यो घटनाले मिनेसोटामा राजनीतिक हिंसाको बढ्दो चिन्तालाई उजागर गरेको छ ।









