१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

रोजगारीको प्रलोभनमा भारत पुगेका युवकको मिर्गौला झिकियो



सिन्धुलीका एक युवक रोजगारीको प्रलोभनमा भारत पुगेपछि जबरजस्ती मिर्गौला झिकिएको खुलासा भएको छ ।

मानव बेचविखन अनुसन्धान ब्युरोको अनुसन्धान अनुसार ती युवकलाई बिचौलियाहरूले भारतमा होटलमा काम लगाइदिने आश्वासन दिई गत जेठमा भारत पुर्‍याएका थिए । नेपालमै मजदुरी गर्दै आएका उनी बिचौलियाको प्रलोभनमा परेर भारत गएका थिए । भारतमा होटलमा काम गर्दा मासिक १० देखि २० हजार भारुसम्म कमाइ हुने आश्वासन दिइएको थियो ।

बिचौलियाको समूहले काठमाडौँको कोटेश्वरबाट कलंकी हुँदै बुटवल, भैरहवा र सुनौली बोर्डर पार गराई उनलाई भारतको चण्डीगढस्थित अपार्टमेन्टमा पुर्‍याएको थियो । त्यहाँ पुगेको भोलिपल्ट नै एक क्लिनिकमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

पीडित युवकका अनुसार समिर नेपाली र राकेश नेपाली नामक व्यक्तिहरूले अपार्टमेन्टमा रहँदा रेखदेख गरेका थिए । एक महिना जति अपार्टमेन्टमा राखेर ६ लाख रुपैयाँ दिने भन्दै मिर्गौला निकाल्ने कुरा गरिएको थियो । तर पीडितले भने आफ्नो सहमतिविना नै २०८२ साउन ९ गते बायाँ मिर्गौला झिकिएको दाबी गरेका छन् ।

उनले मिर्गौला दिन इन्कार गरे पनि लागेको खर्च तिर्नुपर्छ भनेर मानसिक दबाब दिइएको बताइएको छ । त्यसपछि कुमार भनिने राजकुमार परियार र समिर नेपालीको साथमा उनलाई अन्य तीनजना पीडितसहित नेपाल फर्काइएको थियो । साउन १५ गते उनीहरू काठमाडौँ फर्किएका थिए ।

तर, पहिले कबुल गरिएको ६ लाख रुपैयाँ पीडितलाई दिइएन । पीडित युवकले मानव बेचविखन अनुसन्धान ब्युरोमा जाहेरी दिएपछि अनुसन्धान सुरु भएको छ । ब्युरोका अनुसार संगठित रूपमा अवैध मानव अङ्ग (मिर्गौला) तस्करी गरिएको पुष्टि भएको छ ।

अनुसन्धानका क्रममा हालसम्म समिर नेपाली, राकेश नेपाली, राजकुमार परियारसहित चार जनालाई पक्राउ गरिएको छ । बुधबार समिर नेपालीलाई नयाँ बसपार्क (मित्रनगर) र राकेश नेपालीलाई टोखा नगरपालिका–३ बानियाँटारबाट पक्राउ गरिएको हो । बिहीबार राजकुमार परियारलाई काभ्रेको पाँचखालबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ। पक्राउ परेका मध्ये तीन जनालाई अदालतबाट सात दिनको म्याद लिइ थप अनुसन्धान गरिँदैछ ।

ब्युरोका एसपी नरेन्द्र कुँवरका अनुसार, पक्राउ परेकाहरूबाट अन्य तथ्यहरू खुल्दै गएका छन् । गिरोहले नेपाल तथा भारतमा संगठित र योजनाबद्ध तवरले मिर्गौला बेच्ने धन्दा सञ्चालन गर्दै आएको छ । कमजोर आर्थिक अवस्था भएका नेपालीलाई लक्षित गर्दै आकर्षक कमाइको प्रलोभनमा पारेर यस्ता अपराध गरिँदै आएको प्रहरीले जनाएको छ ।

गिरोहले मेडिकल परीक्षणदेखि लिएर भारतमा सम्पूर्ण प्रबन्ध मिलाउने र अन्ततः मिर्गौला चर्को मूल्यमा बिक्री गर्ने गरेको पाइएको छ । प्रहरीका अनुसार अन्य जिल्लाका दर्जनौं मानिसहरूलाई यस्तै तरिकाले मिर्गौला बेच्न बाध्य बनाइएको सूचनाका आधारमा अनुसन्धान जारी छ ।

ब्युरोले घटनालाई संगठित अपराध मानेर अनुसन्धान अघि बढाएको र अन्य फरार प्रतिवादीहरूको खोजी कार्य जारी रहेको जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८२, बिहिबार  ११ : १७ बजे