३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

इजरायली आक्रमणमा अल जजिराका पाँच पत्रकार, संयुक्त राष्ट्रद्वारा कडा निन्दा



गाजा सिटीमा भएको इजरायली हवाई आक्रमणमा अल जजिरा पाँच पत्रकार मारिएका छन् । उनीहरुको सोमबार अन्त्येष्टि गरिएको छ । अल जजिराका अनुसार, उनीहरू सात जनाको मृत्यु इजरायली सैनिकको आक्रमणमा एकै घटनामा भएको हो ।

मारिएका पत्रकारमध्ये २८ वर्षीय संवाददाता अनस अल–शरिफलाई इजरायली सेनाले “हमासको आतंकी सेलको प्रमुख” भएको दाबी गर्दै लक्षित गरेको बताएको छ । तर, उक्त दाबीको समर्थन गर्ने ठोस प्रमाण इजरायलले सार्वजनिक गरेको छैन । बीबीसीका अनुसार, शरिफ हालको युद्ध सुरु हुनुभन्दा अघि गाजामा हमासको मिडिया टोलीमा काम गर्थे, तर मृत्युअघि उनका केही सामाजिक सञ्जाल पोस्टमा हमासको आलोचना पनि गरेका थिए ।

यस घटनामा अर्का अल जजिरा संवाददाता र तीन क्यामेरा अपरेटरको ज्यान गएको छ भने छैटौं पीडित स्वतन्त्र पत्रकार भएको पहिचान भएको छ। अल जजिराले यसलाई “लक्षित हत्या” र “प्रेस स्वतन्त्रतामाथिको योजनाबद्ध आक्रमण” भनेको छ।

संयुक्त राष्ट्रसंघले यसलाई “अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लङ्घन” भनेको छ भने कमिटी टू प्रोटेक्ट जर्नालिस्ट्स का अनुसार, सन् २०२३ अक्टोबरमा इजरायलको गाजामाथिको सैन्य आक्रमण सुरु भएयता १८६ पत्रकारको ज्यान गइसकेको छ।

कतारका प्रधानमन्त्री शेेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीले “पत्रकारमाथिको जानाजानी गरिएको आक्रमण” भन्दै कडा आलोचना गरेका छन्। अल जजिराको मुख्यालय कतारमा रहेको छ र यसलाई कतारी सरकारले आंशिक रूपमा वित्तपोषण गर्दै आएको छ।

यसैबीच, इजरायल गाजा सिटीको नियन्त्रण लिन तयारी गरिरहेको जनाएको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसलाई “युद्ध अन्त्य गर्ने उत्तम उपाय” भनेका छन्, तर यस योजनाले ठूलो मात्रामा जबरजस्ती विस्थापन र थप मृत्यु हुने भन्दै संयुक्त राष्ट्रलगायत अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेका छन्।

गाजाको हमास–नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्ला २४ घण्टामा ६९ जनाको मृत्यु भएको छ, जसले युद्ध सुरु भएयता मृतकको संख्या कम्तीमा ६१ हजार ४९९ पुगेको छ। पौष्टिक आहारको अभावका कारण मात्रै २२२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

उता, अष्ट्रेलियाले आगामी महिनामा संयुक्त राष्ट्रसंघमा फिलिस्तीनी राज्यको मान्यता दिने घोषणा गरेको छ। अष्ट्रेलियाको यो कदमलाई इजरायली राष्ट्रपति आइज्याक हेर्जगले “आतंकको पुरस्कार” भनेका छन्।

गाजामा सोमबारका अन्त्येष्टि जुलुसमा ठूलो भीड सहभागी भएको थियो। सेतो कपडामा बेरिएका शवमाथि प्रेस ज्याकेट राखिएको थियो, र सहकर्मी पत्रकारहरूले दुःख र प्रार्थनासहित अन्तिम विदाइ गरेका थिए।

प्रकाशित मिति : २७ श्रावण २०८२, सोमबार  ८ : ०७ बजे