सरकारले निर्माण सम्पन्न हुन लागिरहेको नागढुंगा सुरुङमार्ग प्रयोग गर्दा तिर्नुपर्ने उपभोग दस्तुर दर निर्धारण गरेको छ। बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गरे।
निर्णयअनुसार, नागढुंगा सुरुङमार्गमार्फत काठमाडौं प्रवेश गर्ने कार तथा भ्यानहरूले ६५ रुपैयाँ र बाहिरिने क्रममा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनिबस र मिनिट्रकका लागि प्रवेशमा १ सय १५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ दस्तुर तोकिएको छ।
बस तथा ट्रकहरूले काठमाडौं आउँदा २ सय ६० रुपैयाँ र बाहिरिँदा २ सय रुपैयाँ तिर्नुपर्नेछ भने भारी उपकरणयुक्त सवारीसाधनले प्रवेश गर्दा ६ सय रुपैयाँ र बाहिरिँदा २ सय ५० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ।
नागढुंगा सुरुङमार्ग आयोजना हाल निर्माणको अन्तिम चरणमा पुगेको छ। सरकारले आगामी सन् २०२६ देखि सुरुङमार्ग सञ्चालन गर्ने आन्तरिक तयारी गरिरहेको जनाएको छ।









