भक्तपुर जिल्ला अदालतले आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय सुनाएको छ ।
जिल्ला अदालतका अनुसार न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङसँगै शरण तिरूवालाई पनि आपराधिक उपद्रवमा दोषी ठहर गर्दै कैद सजाय सुनाएको हो ।
सूर्यविनायक नगरपालिकाले साँगामा बनाएको झोलुङ्गे पुलमा स्थानीय निकायले राखेको सूचना च्यातेको र रकम उठाउन अवरोध गरेको आरोपमा उनीहरू विरुद्ध मुद्दा दायर भएको थियो । सोही आधारमा पालिकाले प्रहरीमा आपराधिक उपद्रवको कसुर गरेको भन्दै जाहेरी दिएको थियो ।
अदालतले तामाङ र तिरूवालाई पाँच-पाँच दिन कैद सजायसँगै ५ सय रुपैयाँ जरिवाना तिर्न आदेश दिएको छ । साथै दामासाहीले ८ हजार ३ सय रुपैयाँ पीडितलाई क्षतिपूर्ति र पीडित राहत कोषमा जनही २०० रुपैयाँ बुझाउनुपर्ने आदेश भएको छ ।
सुनुवाइका क्रममा आशिका तामाङले साँगाको झोलुङ्गे पुलमा भएको घटनाबारे प्रहरी, सरकारी वकिल र अदालतमा समेत गल्ती स्वीकार गरेकी थिइन् ।









