२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

प्रधानमन्त्री ओलीले संसदलाई दिए पाँच दिने चीन भ्रमणको जानकारी



प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि चीनको पाँच दिने औपचारिक भ्रमणमा जान लागेका छन् । उनले शुक्रबार प्रतिनिधि सभामा १० बुँदे जानकारी दिँदै भ्रमणको उद्देश्य र कार्यतालिकाबारे विवरण प्रस्तुत गरे ।

प्रधानमन्त्री ओलीका अनुसार भ्रमणको मूल उद्देश्य चीनको थियानजिन सहरमा भदौ १६ गते हुने साङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागिता जनाउनु रहेको छ । उनले एससीओलाई चीन, रूस, भारत, पाकिस्तान, काजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, इरान र बेलारुस सदस्य रहेको, विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय संगठनमध्ये एकका रूपमा विकसित भइसकेको संगठन भनेका छन् । नेपाल सन् २०१६ देखि यस संगठनको संवाद साझेदार (डायलग पार्टनर) हो ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ र उपराष्ट्रपति हान चङसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । उनीहरूले आयोजना गर्ने रात्रिभोजमा पनि नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

थियानजिनमा हुने एससीओ प्लस शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । त्यहाँ उनले विभिन्न मित्रराष्ट्रका राष्ट्र वा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटघाट गर्ने कार्यतालिका बनाइएको छ ।

हालसम्म रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओसका प्रधानमन्त्री सोनेसाइ सिपानडोन र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग भेटवार्ता तय भइसकेको छ ।

भदौ १८ गते प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधिमण्डलले बेइजिङमा आयोजना हुने फासीवादविरुद्धको विश्वयुद्ध र जापानविरुद्धको चिनियाँ जनताको प्रतिरोध युद्धमा विजयको ८०औं वार्षिकोत्सव समारोहमा सहभागी हुनेछन् । चीन सरकारले जानकारी दिएअनुसार सो कार्यक्रममा ५० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुनेछन् ।

प्रधानमन्त्री ओलीसँगै पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, शिक्षा मन्त्री रघुजी पन्त, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, सांसद छबिलाल विश्वकर्मा, प्रधानमन्त्री पत्नी राधिका शाक्यसहित उच्चपदस्थ सरकारी कर्मचारी सहभागी हुनेछन् ।

प्रधानमन्त्री ओलीले भ्रमणले नेपाल–चीन मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्ने र एससीओ शिखर सम्मेलनमार्फत अन्तर्राष्ट्रिय मञ्चमा नेपालको दृष्टिकोण र प्राथमिकता प्रष्ट रूपमा प्रस्तुत हुने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ९ : ५१ बजे