११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

जेनजी प्रतिनिधिहरूको चेतावनी : आजै सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न माग



काठमाडौं । जेनजी आन्दोलनका प्रतिनिधिहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्न माग गरेका छन्। उनीहरूले प्रधानमन्त्री नियुक्त नगरे पुनः सडकमा उत्रिने चेतावनी पनि दिएका छन्।

‘हामी नेपाल’का अध्यक्ष सुदन गुरुङले अन्य जेनजी समूहका प्रतिनिधिहरूसँगै भिडियो सार्वजनिक गर्दै यस्तो चेतावनी दिएका हुन्। “अब पनि प्रधानमन्त्री नियुक्त भएन भने हामी गोली खान तयार छौँ,” उनले भने।

जेनजीहरूले आफ्ना समूहमा सम्प्रेषण गरेको सन्देशमा पनि प्रधानमन्त्री नियुक्ति प्रक्रिया लम्बिँदै गए परिवर्तन उल्टिने जोखिम बढेको भन्दै आन्दोलनका लागि तयार रहन आह्वान गरिएको छ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति रामचन्द्र पौडेलको प्रत्यक्ष पहलमा संवादमार्फत अन्तरिम सरकार गठनमा जुट्नुपर्ने धारणा सार्वजनिक गरेको छ। कार्यवाहक सभापति डोलप्रसाद अर्यालका अनुसार भर्चुअल बैठकबाट पार्टीले संविधानको मर्म, संघीय गणतान्त्रिक शासन व्यवस्था, विधिको शासन, नागरिक सर्वोच्चता, बहुलवाद र मौलिक हक जस्ता लोकतान्त्रिक मूल्यमा कुनै सम्झौता नगर्ने निर्णय गरेको छ।

उसले जेनजी पुस्ताको अनिवार्य सहभागितामा सर्वपक्षीय सहमतिबाट प्रस्तावित प्रधानमन्त्री उम्मेदवारप्रति रास्वपाको समर्थन रहनेछ, अन्तरिम सरकारले ६ महिनाभित्र नयाँ निर्वाचन गर्ने र संविधानको धारा ८३ अनुसार द्विसदनीय व्यवस्थापिका कायम राख्नुपर्नेमा पार्टी अडानमा रहन्छ र राष्ट्रपति प्रत्यक्ष पहलकर्ता बन्नुपर्ने, संविधान संशोधन, २०८२ भदौ २३ को आन्दोलनमाथिको दमन, मानवीय क्षति, सम्पत्ति विनाश र २०४६ पछि भएका ठूला भ्रष्टाचारका मुद्दामा उच्चस्तरीय छानबिन आयोग १५ दिनभित्र गठन गर्नुपर्ने माग गरिएको छ ।

यसैगरी, नेपाली कांग्रेस, एमाले, माओवादी लगायत दलका १६ नेताले संयुक्त विज्ञप्ति जारी गर्दै जेनजी पुस्ताको भावनाअनुसार संविधानसम्मत ढंगले अन्तरिम सरकार गठन गर्न आह्वान गरेका छन् ।

विज्ञप्तिमा उनीहरूले आन्दोलन क्रममा भएको जनधन क्षति, सार्वजनिक तथा निजी सम्पत्ति विनाश, व्यक्ति केन्द्रित हमला आदिको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन र राज्यको उच्च तहका पदाधिकारीको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न माग गरेका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहिबार  ११ : २७ बजे